धनगढी, पुस २१ । कैलालीको धनगढी उपमहानगरपालिका–१२ स्थित सिद्धनाथ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कुवेर थापा र कोषाध्यक्ष मोहनबहादुर सिंह १ लाख ६० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयबाट खटिएको टोलीले सामुदायिक वनका अध्यक्ष थापा र कोषाध्यक्ष सिंहलाई १ लाख ६० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो।
सामुदायिक वन क्षेत्रभित्र पर्ने कानीखोला पुल नजिकबाट माटो झिकेको भन्दै लिएको घुससहित अध्यक्ष थापा र कोषाध्यक्ष सिंह पक्राउ परेका हुन्। दुवै जनालाई घुस लिइसकेको अवस्थामा सामुदायिक वनको कार्यालयबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।
घुससहित पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर (महेन्द्रनगर) कार्यालयले जानकारी दिएको छ।
Facebook Comments


























