काठमाडौं, पुस २१ । प्रदेश राजधानी र नामका विषयमा प्रदेशसभा सदस्यहरु बिभाजित भएर पार्टीको हृवीप उल्लंघन गर्ने चेतावनी दिएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ३ कमिटीले शीर्ष नेतृत्वसँग छलफल गर्ने भएको छ।
दुई अध्यक्षसँग अनुमति लिएर पार्टी निर्णय कार्यान्वयन गराउने तयारी प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यसहितका पदाधिकारीको छ। प्रदेशसभा संसदीय दल र प्रदेश कमिटी पदाधिकारी तथा नेकपा केन्द्रीय सदस्यहरु सम्मिलित संयुक्त बैठकमा नाम र राजधानीबारे पार्टी केन्द्रीय सचिवालयको निर्णय नमान्ने चेतावनी सांसदहरुले दिएका थिए।
राजेन्द्र पाण्डे, पशुपति चौलागाई, शान्ति पौडेललगायतका पूर्वएमालेका नेताहरुले पार्टी हृवीप नमान्ने र फ्लोर क्रस गर्ने चेतावनी दिएका थिए।
पूर्वमाओवादीका प्रदेशसभा सदस्यहरुले प्रदेशको नाम नेवा ताम्सालिङ हुनुपर्ने भनेका छन् भने पूर्वएमालेका उपत्यकाका सांसदले नेपाल मण्डल हुनुपर्ने बताएका छन्। यद्यपि नामका सन्दर्भमा ठूलो विवाद नरहेको नेकपा नेताहरुले बताए।
राजधानी सम्बन्धी पार्टी निर्णय कार्यान्वयन गराउन नसकेपछि प्रदेशसभा बैठक पुस २३ गतेलाई सारेर प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य, अध्यक्ष नारायण दाहाल र सचिव आनन्द पोखरेल काठमाडौं आएका छन्। उनीहरुले शीर्ष नेतृत्वलाई भेटेर सबै कुरा अवगत गराउने र नेतृत्वको अनुमतिपछि ह्वीप लगाउने तयारी छ।
नेकपाका एक नेताले भने(नाम वाग्मती र राजधानी हेटौंडानै कायम हुन्छ। तर माथिबाट निर्देशन लादियो, हामीसँग सल्लाह भएन भन्ने गुनासो छ। एकपटक केपी ओली र प्रचण्डसँगै हामी छलफल गर्छौ र पार्टीको निर्णय कार्यान्वयन गराउन प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यलेनै संसदीय दलमा हृवीप लगाउने नेतृत्व गर्नुहुन्छ।
नेकपा संसदीय दलको बैठकमा पार्टीको निर्देशन मान्ने कि नमान्ने भन्नेमा प्रदेशसभा सदस्यहरु बिभाजित देखिएका छन्। सिन्धुली, मकवानपुर र चितवनका प्रदेशसभा सदस्यले हेटौंडा राजधानी हुनुपर्ने र पार्टी निर्णय मान्नु नपर्ने धारणा राखेका छन्।
पूर्वएमालेको माधव नेपाल पक्ष राजधानीको सन्दर्भमा बिभाजित भएको छ। राजेन्द्र पाण्डे, पशुपति चौलागाई, रचना खड्कालगायतले हृवीप नमान्ने चेतावनी दिएका छन् । केपी ओली पक्षधर प्रदेशसभा सदस्यहरु पार्टी निर्णयप्रति असन्तुष्ट रहे पनि हृवीप उल्लंघन गर्ने भनेर बोलेका छैनन्।