काठमाडौं, पुस २१। सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सोमबार बहुप्रतिक्षित भिडन्त हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा भिड्दै छन्। खेल दिउसो ३ बजे सुरु हुनेछ ।
लिगको पाँचौं चरणमा आईपुग्दा मनाङ र मछिन्द्रको खेललाई महत्वकासाथ हेरिएको छ। किनकी यस खेलको नतिजाले उपाधि होडको समीकरण तय हुनेछ।
पहिलो पटक लिग जित्ने लक्ष्य बनाएको मछिन्द्रले पहिलो पटक लिगमा शीर्ष स्थान कब्जा गर्ने लक्ष्यसहित मैदान उत्रने छ। लिग लिडर समत रहेको मनाङलाई पराजित गर्न सके मछिन्द्र शीर्ष स्थानमा उक्लनेछ।
गत सिजन लिग जित्दा मनाङमा रहेका ७ खेलाडी अहिले मछिन्द्रमा रहेका छन्। त्यसैले पनि यस खेललाई महत्वका साथ हेरिएको छ। लामो समय मनाङमा बिताएका अधिकांश खेलाडी पहिलो पटक मनाङविरुद्ध उत्रदैछन्।
अघिल्लो सिजन मनाङबाट खेलेका कप्तान विराज महर्जन, सुजल श्रेष्ठ, विशाल राई, विशाल श्रेष्ठ, हेमन्त गुरुङ, दिपक राई, लोनमा आएका देभेन्द्र तामाङ र अभिषेक रिजाल मछिन्द्रबाट खेल्दैछन्।
त्यसैले त मनाङ र मछिन्द्रलाई नेपाली फुटबलको नयाँ प्रतिद्वन्दीको रुपमा पनि हेरिएको छ।


























