पुस २१ । इरानले सन् २०१५ मा भएको परमाणु सम्झौताबाट आफू पूर्ण रुपमा बाहिरिएको घोषणा गरेको छ। तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको पहलमा इरान र अमेरिकासहितका शक्ति राष्ट्रबिच परमाणु सम्झौता भएको थियो।
सो सम्झौता अनुसार इरानले आफ्नो परमाणु कार्यक्रम सीमित गर्ने र अमेरिकासहितका देशले उसमाथिको प्रतिबन्ध हटाउँदै लैजाने सहमति भएको थियो।
तर अमेरिकाको सत्तामा डोनाल्ड ट्रम्प आएसँगै इरान र अमेरिकाबिचको सम्बन्धमा पुनः टकराव आउन थालेको थियो। यसले उत्कर्ष रुप लिएको छ।
अमेरिकाले गएको शुक्रबार इराकको राजधानी बग्दादमा रहेको विमानस्थल नजिकै गरेको हवाई आक्रमणमा इरानी विशेष सैन्य दस्ता कुड्स फोर्सका प्रमुख मेजर जनरल सुलेमानीसको मृत्यु भएको हो ।
सुलेमानी इरानका सर्वोच्च नेता आयातुल्लाह अलि खामेनीपछिका दोस्रो प्रभावशाली व्यक्तिका रुपमा लिइन्छन्। उनको अन्त्यष्टिका लागि आइतबार इरानमा हजारौँको संख्यामा सर्वसाधारण भेला भएका थिए।
सुलेमानीको मृत्युले अमेरिका र इरानबिचको सम्बन्ध युद्धको अवस्थामा पुगेको देखिएको छ। यहिबिचमा इरानले सन् २०१५ मा भएको सम्झौताका कुनै पनि सीमाहरु नमान्ने घोषणा गरेको हो।
इरानले वक्तव्य जारी गरेर अब युरेनियमसहितका रसायनको तथा परमाणु हतियारको उत्पादनमा सीमा लागु नगर्ने उल्लेख गरेको छ।
अब परमाणु क्षमता, परमाणु क्षमताको तह र परमाणु सामग्रीको भण्डारणसहित परमाणुसँग सम्बन्धी अनुसन्धान तथा विकासमा कुनै पनि सीमा नमान्ने इरानले स्पष्ट पारेको छ। राजधानी तेहरानमा बसेको मन्त्रीपरिषद बैठकपछि इरानले यस्तो घोषणा गरेको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ को मे मा अमेरिकाले सन् २०१५ मा भएको सम्झौता नमान्ने घोषणा गरेका थिए। अहिले इरानले गरेको घोषणापछि सन् २०१५ मा मध्यपूर्वमा स्थायित्व र शान्ति स्थापना गर्ने भन्दै गरिएको सम्झौताको औपचारिक अवशान भएको ठानिएको छ। एजेन्सी