विराटनगर, पुस १८। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आगामी तीन वर्षभित्र प्रदेशका दश लाख घरधुरीमा उज्यालो पुर्याउने बताएका छन्। आधिकारिक ट्रेड युनियन नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनद्वारा शुक्रबार आयोजित ‘सहज सेवा, स्वच्छ नेविप्रा’ राष्ट्रिय अभियान–२०७६ को १ नं प्रदेश श्रृङ्खला अभियानको सुरुवात गर्दै मुख्यमन्त्री राइले तीन वर्षभित्र विद्युत् भार कटौती गर्ने दाबी गरेका हुन्।
प्रदेश उर्जाको क्षेत्रमा सम्पन्न रहेको बताउँदै आगामी पाँच वर्षभित्र एक हजार ५०० मेघावाट विद्युत् उत्पादन गरी औद्योगिक क्षेत्रको विकासबाट जनतालाई रोजगारी उपलब्ध जनतालाई समृद्ध बनाउने उनको भनाइ छ। मुख्यमन्त्री राईले विकास र समृद्धिको बाधकको रुपमा रहेको भ्रष्टाचार र ढिलासुस्ती अन्त्यका लागि शून्य सहनशिलता अपनाएको बताए।
उनले सरकारले सूचना प्रविधिको अधिकतम प्रयोग गरी ‘डिजिटल प्रदेश’मा रुपान्तरण गर्न ‘सिएम ड्यास बोर्ड’ चाँडै सञ्चालनवाट मुख्यमन्त्री कार्यालय, प्रदेश कार्यालय, सम्पूर्ण पालिकाका सूचना, छलफललगायत सबै जानकारी उपलब्ध हुने बताए। गुणस्तरीय सडक, खानेपानी, सिँचाइ र विद्युत् योजना निर्माणबाट जनतालाई विकासको अनुभूति दिनुपर्नेमा जोड दिँदै स्वच्छ गुणस्तरीय र सेवा प्रदान गर्ने युनियनको अभियानले सरकारलाई मार्गदर्शन मिल्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा नेपाल विद्युत् प्राधिकरण प्रदेश निर्देशक श्रीरामराज पाण्डेले प्रदेशको छ जिल्लामा पूर्णरुपमा विद्युत् पुगेको जानकारी दिँदै सोलार ग्रीडका लागि रु एक अर्ब रकम छुट्याएको बताए। – रासस