काठमाडौं, पुस १८। चालू आर्थिक वर्षको पहिलो चौमासिकमा पाँच सडक पुल निर्माण गर्ने योजना बनाइएकोमा ४५ वटाको निर्माण सम्पन्न भएको सडक विभागले जनाएको छ। चालू आवमा तीनसय पुल निर्माण गर्ने योजना रहेकामा अघिल्लो वर्षबाटै निर्माण सुरु भएका पुलहरु सम्पन्न भएको हो।
पुल निर्माणमा बहुवर्षीय ठेक्का भएकाले पहिलो चौमासिकमा नै सम्पन्न भएको सडक विभाग, पुल महाशाखाका प्रमुख (उपमहानिर्देशक) दीपक भट्टराईले जानकारी दिए। चालू आवमा निर्माणाधीनमध्ये बाँकी पुल सम्पन्न गरी तीन सय सम्पन्न गर्ने लक्ष्य लिइएको हो। अहिले अघिल्ला वर्षको एक हजार ४६७ पुल निर्माणाधीन छन् भने त्यसमा २१२ पुलको योजना यस वर्ष थपिएको छ।
पुल निर्माण एकै वर्षमा सम्पन्न नहुने हुँदा दुई–तीन वर्षदेखि चार वर्षको अवधिमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको छ। कतिपय योजना विभिन्न कारणले सम्पन्न नहुने हुँदा त्यसमा अवधि थप हुन्छ। प्रशासनिक कारणले वा बर्सातलगायत कारणले निर्माण व्यवसायीले चाहेर पनि काम गर्न नसक्दा अवधि थप हुने गरेकोे उपमहानिर्देशक भट्टराईले बताए।
निर्माणाधीन पुलमध्ये कतिपय रणनीतिक त कतिपय स्थानीय सडकमा निर्माण भइरहेको छ। विभागमा निर्माणाधीन पुलको चाप उच्च भएको भन्दै दुई वर्षसम्म नयाँ पुल निर्माणको योजना बनाएको थिएन। चालू आवमा भने स्थानीय सडकमा २१२ सडक पुलको योजना बनेको छ। – रासस