चितवन, ०६ असार। भरतपुर महानगरपालिकामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगाशाला बन्ने विषय विवादित बनिरहेका बेला रत्ननगरमा भने मिनी रंगाशाला निर्माणको काम तीव्र पारिएको छ। खेलकुद विकासका लागि रत्ननगर नगरपालिका वडा नं १६ ले कयर खोलामा मिनी रंगशाला निर्माण गर्न लागेको हो। स्थानीय सरकार गठन भइसकेपछि गतवर्ष वडाबाट विनियोजन तीन लाख रूपैयाँ बजेटबाट थालनी भएको कामले यसवर्ष जिल्ला खेलकूद विकास समितिले सहयोग गरेपछि उक्त कामले निरन्तरता पाएको छ। चालू आर्थिक वर्षको लागि वडाबाट बजेट विनियोजन नभए पनि जिल्ला खेलकुद विकास समितिले दस लाख रूपैयाँ बजेट उपलब्ध गराएको रत्ननगर १६ का अध्यक्ष हेमराज थापाले जानकारी दिए।
करिब पाँच बिगाह क्षेत्रफलमा उक्त रंगशाला निर्माण गर्न लागिएको हो, जसलाई टिकौली चौरको विकल्पका रुपमा हेर्न थालिएको छ। स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेपछि सार्वजनिक जग्गा खोज्ने क्रममा कयर खोला किनारमा पाँच बिगाहा सार्वजनिक जग्गा पाएपछि त्यसैलाई रंगशालाका रुपमा विकास गर्न लागिएको उनले बताए।
‘गत आर्थिक वर्षमा हामीले तीन लाख बजेट छुट्याएका थियौँ’, उनले भने, ‘त्यसले चौर सम्याउने काम पनि पूरा भएन, यसवर्ष त्यसैका लागि वडाबाट बजेट छुट्याउन सकेनौँ । तैपनि, खेलकुद विकास समितिले उपलब्ध गराएको बजेटबाट सम्याउन कामसहित तारबार लगाउने योजना छ ।’ अहिले सम्याउने काम भइरहेको छ । उनका अनुसार भदौ महिनादेखि खेल खेलाउन सकिने छ ।
खेल मैदान तयार भइसकेपछि तीन/तीन वर्षमा आयोजना हुने गरी रनिङशिल्ड खेलाउने योजना रहेको उनले बताए । ‘म आफैँ पनि खेलप्रेमी भएकोले खेलकुद क्षेत्रको विकास गरौँ भनेर प्रयास गरेको हुँ’, उनले भने, ‘खोलाको किनारमा भएकोले ड्यामको आवश्यकता छ, त्यसका लागि आउँदो वर्ष बजेट छुट्याएर काम गर्नुपर्ने छ ।’
भावी दिनमा प्याराफिटसहितको खेल मैदान बनाउने अवधारण रहेको उनले बताए । स्थानीय तहले खेलकुदको विकासका लागि खासै ध्यान नदिँदा जिल्लालाई खेलकुदमा अझ अगाडि लैजान नसकिएको वडा नं १६ का खेलकुद संयोजक जीतेन्द्र थापाले गुनासो गरे ।
‘नगरपालिकाले नै पहल गर्नुपर्ने काममा वडाले धन्न चासो देखाएर मैदान बनाउने काममा लागेको छ’, उनले भने, ‘यो हाम्रो लागि खुसीको कुरा हो, तर यसको विकासका लागि वडाले मात्रै पहल गरेर पुग्दैन, नगरबाटै बजेट विनियोजन गरेर काम गर्नुपर्छ ।’ उनका अनुसार निर्माणाधीन मिनी रंगशाला तीनदेखि चार हजार दर्शक क्षमताको हुनेछ ।
सार्वजजिक जग्गा प्रशस्तै भएर पनि स्थानीय तहले खोजीको विषय नबनाउँदा खेल मैदान अभाव भएको स्थानीय नेत्र गुरूङ बताउँछन् । सार्वजनिक जग्गाको खोजी गरी संरक्षण गर्न सके हरेक स्थानीय तहमा खेलकुद मैदान निर्माण गर्न सकिने उनको भनाइ छ । खेलकुदको माध्यमबाट पनि जिल्लालाई विकास गर्न सकिन्छ भन्ने विषयमा स्थानीय सरकारले गम्भीर भएर सोच्न उनले सुझाव दिए । ‘यस्तो काममा वडाले मात्रै चासो दिएर पुग्दैन’, उनले भने, ‘नगरपालिकाले नसक्ने भए प्रदेश र केन्द्र सरकारसँग समन्वय गरेरै भए पनि खेलकुदको विकास गर्न सक्नुपर्छ ।’