चितवन, २५ जेठ। शनिबार चितवनमा साहित्यसम्बन्धि तीनवटा कार्यक्रम भए। बिहान होटल ग्लोबरमा जिके पोख्रेलको कथा संग्रह ‘गोहो’माथि चर्चा भयो। दिउँसो सप्तगण्डकी बहुमुखी क्याम्पसको हलमा ‘संघर्षको इतिहास’माथि चर्चा भयो। यी दुईवटा कार्यक्रमको चर्चा परिचर्चा पछि दिउँसो चितवन साहित्य परिषदको भवनमा युवा गजलकार प्रकेति प्रेमीको गजलसंग्रह ‘समीर’को गृह विमोचन गरियो। प्रायः हरेक हप्ताको शनिबार चितवनमा साहित्यसम्बन्धि कार्यक्रम भई नै रहन्छ। सोहीअनुरुप यो शनिबार पनि तीनवटा कार्यक्रम भए।
गोहो कथा संग्रहमाथि चर्चा गर्नको लागि अक्षर समूह चितवनले व्यवस्था गरेको थियो। कथा संग्रहमाथि समीक्षकद्वय रमेश प्रभात र डा एकनारायण पौडेलले टिप्पणी गरेका थिए। उक्त संग्रहमाथि बोल्दै समीक्षक रमेश प्रभातले द्वन्द्वको समयमा नेपाली जनताले भोगेका पीडा र व्यथाको पोको नै ‘गोहो’मार्फत पाठकमाझ आएको बताए। ‘गोहोले विगत एक दशकको समकालीनता बोलेको छ,’ उनले भने, ‘सामाजिक परिवेशमा लेखिएका कथाहरु निकै पठनीय छन्।’ तर, कथामा जनयुद्धका सकारात्मक प्रभावमाथि भने कथाकार मौन देखिँदा कथाकारमा प्रजातान्त्रिक सोच बढी हावी भएजस्तो देखिएको उनको बुझाई छ।
अर्का समीक्षक डा. एकनारायण पौडेलले भने कथामा पारम्परिक बिम्बसँगै कथाकार आफैँले पनि नयाँ बिम्ब सिर्जना गरेर कथालाई थप सुन्दर बनाउने प्रयास गरिएको बताए। ‘अधिकांश कथाले द्वन्द्वकालीन समयका घटनाक्रमलाई प्रस्तुत गरेका छन्,’ उनले भने, ‘तर, यसलाई द्वन्द्व भन्न चाहिँ मिल्दैन, किनभने यसमा अन्य विषयवस्तुले पनि स्थान पाएको देखिन्छ।’ कथाको भाषामा देखिएको आञ्चलिकताले पनि कथालाई थप सशक्त बनाएको उनले बताए। तर, कथा पढ्दै जाँदा कतिपय स्थानमा फरक प्रसंग आउँदा पाठक अलमलिने समस्या भएको उनको भनाइ छ।
लेखक पोखरेलका अनुसार ‘गोहो’ २०५८ देखि २०६२ सालसम्मको परिवेशमा तयार भएको कथा हो । त्यतिबेला नेपाली समाजले भोग्नुपरेको समस्यालाई कथामार्फत प्रस्तुत गर्ने जमर्को गरिएको उनले बताए। तर, तत्कालीन माओवादीलाई आफूले राम्रो पनि नभनेको र नराम्रो पनि नभनेको उनको भनाइ छ। ‘तर, नेपालमा पृथ्बीनारायण शाहदेखि प्रचण्डसम्मको शासकलाई हेर्दा सबैले रक्तपातै गरेर शासन हातमा लिएको देखिन्छ,’ उनले भने, ‘त्यति गर्दा पनि अझै विप्लव समूह फेरि त्यतैतर्फ लम्किएजस्तो कताकता भान हुन्छ। त्यसैले शासन कब्जा गर्नको लागि रक्तपातै गर्नुपर्ने हो र ? भन्ने जस्ता प्रश्न अहिलेसम्म उब्जिरहेको छ।’
सिंहदरबारमा अहिलेसम्म सिंहको चित्र भएको बताउँदै उनले थपे, ‘इतिहासमा शासकहरु यति धेरै हिंस्रक भए, उनीहरुले आफूलाई सधैँ सिंह नै ठान्छन् । जसले गर्दा जनताको समस्या सधैँको उस्तै।’ त्यसैले रगतपक्ष गोहोको व्यंग्य प्रस्तुत गर्न पुस्तकको नाम पनि गोहो नै राखिएको उनले प्रस्ट पारे। भिडियो हेर्नुहोस्:
दिउँसो सप्तगण्डकी बहुमुखी क्याम्पसको हलमा भने प्रगतिवादी लेखकको रुपमा स्थापित साहित्यकार लेखनाथ न्यौपानेको कृति ‘संघर्षको इतिहास’ माथि चर्चा भयो। यो कार्यक्रमको व्यवस्थापन भने प्रगतिशील लेखक संघ र मन्थन चितवनले संयुक्तरुपमा कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा बोल्ने वक्ताहरुले विश्व कम्युनिष्ट आन्दोलनको इतिहास बोकेको पुस्तकमाथिको सबल र दुर्वल पक्षबारे आफ्ना भनाइ राखेका थिए।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व महासचिव एवम् कार्यक्रमका शिक्षाविद् रमाकान्त सापकोटा, कम्युनिष्ट नेता काशिनाथ अधिकारी, महिला नेतृ कञ्चन खनाल, मन्थन चितवनकी संयोजक सरिता तिवारीलगायतले बोलेका थिए। यस्तै शनिबारै चितवनका युवा गजलकार प्रकृति प्रेमीको गजलसंग्रह ‘समीर’को समेत गृह वमोचन गरिएको छ। पल्लव साहित्य प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष हुसैन खाँ, अग्रज गजलकार केशवराज आमोदी, कवि तथा निबन्धकार लकाश पौडेल, युवा कवि एवम् गजलकार मनोज भण्डारी र कृतिकार प्रकृति प्रेमीले संयुक्तरुपमा विमोचन गरेका हुन्। उक्त कार्यक्रममा सरोज सुमन, लेखराम सापकोटालगायतले समीर गजलसंग्रहबाट केही गजल सुनाएका थिए। कार्यक्रममा डा मतिप्रसाद ढकाल, डा एकनारायण पौडेल, डा धनेश्वर भट्टराईलगायतले शुभकामना दिएका थिए।