खोटाङ, २५ जेठ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सिद्धान्त, इतिहास र परिस्थितिको गहन अध्ययन गर्न पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन्। खोटाङको दिक्तेलमा आयोजित नगर समितिको सपथ ग्रहण काषर््क्रममा बोल्दै नेता खनालले बिना अध्ययन र समय परिस्थितिलाई नबुझी अगाडि बढ्दा काममा प्रभावकारिता नहुने स्पष्ट पार्दै नेता नेता खनालले पार्टीको सिद्धान्त, इतिहास र देशको वर्तमान परिस्थितिको गहन अध्ययन गर्न आवश्यक रहेको बताएका हुन्।
मुलुकको आमूल परिवर्तन गर्ने अभिभारा नेकपाका नेता तथा कार्यकर्ताको काँधमा रहेको उनको भनाइ छ। ‘हामीले देशमा ठूलो उपलब्धि हासिल गरेका छौँ,’ उनले भने, ‘प्राप्त उपलब्धिलाई संस्थागत गर्दै आमूल परिवर्तन गर्ने काममा लागू गर्नुपर्ने हुन्छ। यसका निम्ति पार्टीको सिद्धान्त, इतिहास र वर्तमान परिस्थितिको गहन अध्ययन गर्नुपर्छ।’ उनले हरेक तहमा गठन भएको पार्टी समितिले सरकारलाई मार्गनिर्देश गर्न सक्नुपर्ने बताए।
पार्टी एकताको विषयमा कुरा गर्दै नेता खनालले भने, ‘पार्टी एकताको बाँकी काम अन्तिम चरणमा पुगिसकेको छ, तर, अहिले निर्माण भएका समिति भद्दा बनेको छ। यसमा मेरो टिप्पणी छ,’ उनले भने, ‘भद्दा समितिले पार्टीमा विध्वंस हुन्छ। राष्ट्रिय महाधिवेशनपश्चात् साइजमा आउने छौँ।’