काठमाडौँ, ३० बैशाख। प्रेस काउन्सिल नेपालले समाजवादी पार्टी नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँग लिइएको अन्तर्वार्ताका क्रममा प्रयोग गरिएका भाषाशैली र शब्द चयनका विषयलाई लिएर एभिन्युज टेलिभिजनसँग स्पष्टीकरण सोधेकोे छ ।
उपप्रधानमन्त्री यादवसँग आइतबार राति लिइएको अन्तर्वार्ताका क्रममा अन्तर्वार्ताकारले पत्रकार आचारसंहिताको ख्याल नगरेको र शिष्टतालाई ध्यान नदिइएको ठहर गर्दै उक्त टेलिभिजनसँग स्पष्टीकरण सोधेको हो । एभिन्युज टेलिभिजनलाई तीन दिनभित्र जवाफ दिन निर्देशन दिइएको काउन्सिलका सहप्रशासकीय अधिकृत दीपक खनालले जानकारी दिए।
‘संयमित रहन निर्देशन’
समाजवादी पार्टी नेपालले एक सञ्चारमाध्यममा अन्तर्वार्ताका क्रममा पार्टी अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवमाथि गरिएको व्यवहारलाई लिएर उत्तेजित नहुन आफ्ना कार्यकर्तालाई निर्देशन दिएको छ। सो पार्टीले सोमबार एक विज्ञप्ति जारी गर्दै अन्तर्वार्ताका क्रममा भएको दुःखद घटनालाई लिएर कुनै पनि अवाञ्छित गतिविधि नगरी संयमित रहन कार्यकर्तालाई निर्देशन दिएको हो।
अन्तर्वार्ताका क्रममा अध्यक्ष यादवको मानमर्दन एवं अपमानित हुने गरी पत्रकार आचारसंहिता विपरीत सोधिएका प्रश्न र सञ्चारकर्मीको अभद्र एवं पूर्वाग्रही प्रस्तुति प्रति गम्भीर ध्यानाकर्षण भएको पार्टीका उपमहासचिव प्रकाश अधिकारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। मिडिया जगत तथा प्रेस स्वतन्त्रताका पक्षमा वकालत गर्दै आउनु भएका अध्यक्ष यादवसहित समाजवादी पार्टी, नेपालले प्रेस स्वतन्त्रता र मर्यादालाई सँधै सम्मान गर्दै आएको विज्ञप्तिमा प्रष्ट पारिएको छ।
सो पार्टीले पत्रकारिताको आचरण विपरीतका यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्न र पत्रकारिता जगतलाई अझै सम्मानित एवं मर्यादित बनाउन सञ्चार गृह, सञ्चारकर्मी र प्रेस काउन्सिललगायत निकायलाई अपिलसमेत गरेको छ। उपप्रधानमन्त्री यादवसाग लिएको अन्तर्वार्ता प्रशारण भएपछि भाइरल बनेको थियो। सोही विषयलाई लिएर सामाजिक सञ्जालमा समेत पक्षविपक्षमा बहस भइरहेको छ। -रासस
मिडिया जगत तथा प्रेस स्वतन्त्रताका पक्षमा वकालत गर्दै आउनु भएका अध्यक्ष यादवसहित समाजवादी पार्टी, नेपालले प्रेस स्वतन्त्रता र मर्यादालाई सँधै सम्मान गर्दै आएको विज्ञप्तिमा प्रष्ट पारिएको छ।