नवलपुर । १२ बुँदे घोषणापत्र जारी गर्दै दुई दिने नारायणी नदी सम्मेलन सकिएको छ। ‘स्वच्छ नदी, स्वस्थ जीवन’का लागि घोषणापत्रमा नदीको स्वच्छता, संरक्षण र दीगोपनाका विषय समेटिएका छन्। जलाधार क्षेत्रको संरक्षणका लागि जैविक एवं पारिस्थितकीय प्रणालीमा आधारित क्रियाकलापमा जोड दिदैँ नदीमा आश्रित जीव, समुदायको उत्थान एवं विकासमा जोड दिइएको छ।
सांस्कृतिक क्रियाकलाप गर्दा स्वच्छतामा ध्यान दिने, संरक्षणमुखि कार्यक्रम सञ्चालन गर्ने, औद्योगिक क्षेत्रको प्रदुषण नियन्त्रणसम्मका विषय उल्लेख गरिएका छन्। कार्यक्रमको समापन सत्रका वक्ताहरुले सबैजना हातेमालो गर्दै अघि बढे नदी स्वच्छता कायम राख्न सकिने बताएका थिए।
यसमा अझै स्थानीय पालिकाहरुले जिम्मेवार बोध गरी अघि बढ्नुपर्ने बताएका थिए। उनीहरुले अधिकारका कुरा उठाउँदै गर्दा कर्तव्य नभुल्न आग्रह गरेका छन्।
गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले घोषणापत्रमा भएका कुरा लागू गर्न नगरपालिका प्रतिवद्ध रहेको बताए। नगर प्रमुख अधिकारीले नदीको माथिल्लो तटीय क्षेत्रमा गरिएको फोहोरले तल्लो तटीय क्षेत्र अझ बढी प्रभावित भएको बताउँदै सरसफाइ कायम राख्न सबैलाई आग्रह गरे।
सहमति संस्थाका अध्यक्ष होमनाथ सुवेदीले सचेतना फैलाउने, सिमसार क्षेत्रहरुको संरक्षण, नदीमा आश्रित तटीय क्षेत्रका परिवारको जीविकोपार्जन सुधार, पानीसँग सम्बन्धित जोखिम कम गर्नेलगायत क्रियाकलापसँगै तीनै तहका सरकारलाई घच्घचाउने काम गरेको बताए।
कार्यक्रममा ग्रीन पिक्सेलका परामर्शकता बासुदेव न्यौपानेले घोषणापत्रबारे जानकारी गराएका थिए। दुई दिनसम्म चलेको सम्मेलनमा करिब २ दर्जन कार्यपत्र प्रस्तुत भए। डब्लु डब्लु एफ, जलाधार संरक्षण केन्द्र, गण्डकी प्रदेश, गैँडाकोट नगरपालिका, त्रिभुवन विश्वविद्यालय वातावरण विभाग, लुथरनसँगको सहकार्यमा सहमतिको ‘सिमसार क्षेत्र पुर्नस्थापना र नारायणी तटीय सामूहिक प्रयास तथा कार्ययोजना’ परियोजनाको आयोजनामा सम्मेलन भएको हो।


























