चितवन । हालै जिल्ला प्रहरी चितवनको नेतृत्व सम्हाल्न आइपुगेका प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीले चितवनलाई अपराधमुक्त बनाउने दाबी गरेका छन्। यसअघि नेतृत्व सम्हालेका स्थानहरूमा केही न केही नयाँ काम गरेको दाबी गर्दै चितवनका पत्रकारहरूसँगको भेटघाटका क्रममा उनले भने, ‘काम गर्ने सिलसिलामा उत्कृष्ट भएर पुरस्कृतसमेत भइसकेको हुँदा आफूसँग भएको क्षमता र दक्षतालाई प्रयोग गरेर जिल्लालाई म रहँदासम्म कुनै पनि आपराधिक गतिविधि हुन दिने छैन।’
भौगोलिक हिसाबले पनि देशका अन्य जिल्लाभन्दा चितवन जिल्ला विशेष मानिन्छ। देशकै केन्द्रभागमा रहेको हुँदा आपराधिक गतिविधिमा संलग्न जोकोहीले चितवन जिल्लालाई आफ्नो ‘ट्रान्जिट’ बनाउन सक्ने हुँदा यसप्रति आफू सचेत रहने उनको भनाइ छ। ‘समाजलाई अपराधरहित बनाउनका लागि हरसम्भवको प्रयास गरिनेछ,’ उनले भने।
सेवाका क्रममा देशको पहाडदेखि तराईसम्मका धेरै जिल्लाको अनुभव लिइसकेको बताउँदै उनले भने, ‘बाहिरी जिल्लामा लिएको अनुभवलाई चितवनमा सदुपयोग गर्छु।’ यसअघिका एसपी नवराज अधिकारी सरुवा भएपछि एसपी कार्की चितवन आइपुगेका हुन्।


























