पर्वत । आइतबार पोखरामा भएको यती एयरको विमान दुर्घटनामा परी पर्वतका १० जनाले ज्यान गुमाएका छन्। मृतक सबैको सनाखतसमेत भइसकेको छ। दुर्घटनामा परी कुश्मा नगरपालिका–१४ आर्थर डाँढाखर्कका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल, कुश्मा –९ का अरुण पौडेल र उनकै छोरी ११ वर्षीया प्रसिद्धी, कुश्मा–१ पाङकी रचना काफ्ले र उनका १० महिने छोरा रिहानको ज्यान गएको हो।
त्यसैगरी मोदी गाउँपालिका–१ भुकताङ्लेका विजय गुरुङ, विहादी –५ उराम पोखराका एकै परिवारका जमुना शर्मा, युवराज शर्मा, आयुर्दी शर्मा र वेबी शर्माको पनि मृत्यु भएको पुष्टि भएको छ। शर्मा परिवारमा आमा, छोरा, नाती र नातिनी एउटै विमान दुर्घनामा परेर निधन भएको हो। उनीहरु यही माघ ४ गते आफन्तको घरमा रहेको पूजामा निम्ता मान्न आएका थिए
दुर्घटनामा ज्यान गुमाउने कुश्मा –९ कटुवाचौपारीका ४६ वर्षका अरुण पौडेल र उनकी छोरी वर्ष ११ कि प्रसिद्धी विद्यालय बिदा भएपछि आफन्तलाई भेटघाटका लागि पर्वत आउँदै थिए। काठमाडौंको बृहस्पति विद्याश्रममा कक्षा ५ मा पढ्ने प्रसिद्धी जन्मघर पर्वत आउने क्रममा दुर्घटनामा परेका हुन्। विमानस्थल पुगेका भाइ केशवले नै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएर अरुण र प्रसिद्धीको शवको पहिचान गरेका थिए।
पौडेल गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा चुनावमा पर्वतबाट स्वतन्त्र उम्मेदवार बनेका थिए। दुर्घटनामा परी ज्यान गुमाएका पर्वतका सबैको पहिचान भएकाले आज आफन्तलाई शव बुझाइने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए। – रासस


























