नारायणगढ । ‘मेड इन नेपाल एक्स्पो २०७९’ आजदेखि सुरु भएको छ। नेपाली युवा उद्यमी मञ्च चितवनको आयोजनामा चितवन महोत्सव परिसरमा एक्स्पोको आयोजना गरिएको हो। एक्स्पोको मंगलबार भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले उद्घाटन गरेका हुन्। एक्स्पोमा ४० वटा स्टल रहेका छन्। १० वटा स्टार्ट अप विजनेशका स्टल रहेका छन्। भर्खरै उद्यमशिल बनेका युवाहरु बीच ‘विजनेश आइडिया’को विषयमा मञ्चले प्रतिस्पर्धा पनि गराउँदै छ। उत्कृष्ट हुनेले नगद एक लाख रुपैयाँ पुरस्कार पाउने छन्।
एक्स्पोको उद्घाटनपछि बोल्दै उपप्रमुख अधिकारीले नेपाली उत्पादनको प्रवर्द्धनका लागि एक्स्पोले सहयोग पुग्ने बताए। महागनरले पनि बेलाबखत सिपमुलक तालिमको आयोजना गर्दै आएको भन्दै उनले उत्पादन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखिएको बताए। ‘स्थानीय उत्पादन बृद्धि र रोजगार सिर्जना गराउने काममा युवा उद्यमीसँग सहकार्य गर्न महानगर सदैव तयार छ’, उनले भने।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले विदेशमा सिप सिकेर आएका युवालाई स्वदेशमा नै उत्पादनसँग जोड्न एक्स्पोले मद्धत पुग्ने उनले विश्वास व्यक्त गरे। चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले नेपाली उत्पादनले विदेशी उत्पादनसँग पनि प्रतिस्पर्धा गर्न सरकारले पनि सहयोग गर्नुपर्ने बताए। नेपाली उत्पादनको राम्रो ब्राण्डिङ पनि हुन नसकेको उनले बताए।
नेपाली युवा उद्यमी मञ्चका केन्द्रीय सदस्य पवित्र गौतमले नेपाली वस्तु तथा सेवाको मञ्चले प्रवर्द्धन गर्दै आएको बताए। नेपाली युवा उद्यमी मञ्च चितवनका अध्यक्ष सूर्यभक्त अधिकारीले सरकारको न्युनतम साझा कार्यक्रम ‘मेक इन नेपाल’लाई ‘मेड इन नेपाल एक्स्पो’ले सहयोग पुग्ने विश्वास व्यक्त गरे।



























