चितवन । नारायणी नदी किनारमा जारी १४औँ चितवन महोत्सवमा मंगलबारमात्रै १५ हजारभन्दा बढीले अवलोकन गरेको आयोजकले जनाएको छ। महोत्सवको सुरुवाती दिनमै १५ हजार दर्शकले महोत्सव अवलोकन गरेर महोत्सवको शुभ संकेत पाएको चितवन महोत्सव टिकट व्यवस्थापन समितिका संयोजक राजन पियाले जानकारी दिए। भोलि (बुधबार) सार्वजनिक बिदाको दिनसमेत परेको हुँदा अवलोकनकर्ताको संख्या अझ बढ्ने अनुमान गरिएको छ।
सार्वजनिक बिदाको दिनमा विद्यार्थी तथा कर्मचारीहरु पनि महोत्सव अवलोकनका लागि आउने हुँदा बिदाका दिनमा दर्शकको उपस्थिति अधिक रहने उनको दाबी छ। दश दिनसम्म सञ्चालन हुने महोत्सवमा पाँच लाख दर्शक पुग्ने अनुमान गरिएको छ। सोमबार उद्घाटन भएको महोत्सवको सांस्कृतिक कार्यक्रम मंगलबारबाट सुरु भएको छ। सांस्कृतिक कार्यक्रममा हरेक दिन विशेष कलाकारहरुको उपस्थिति रहने सांस्कृतिक कार्यक्रम संयोजक नारायण प्रधानले जानकारी दिए।
मंगलबार भएको सांस्कृतिक कार्यक्रममा लाइभ ब्याण्ड प्रतियोगिता एवं विभिन्न जातजातिको गीतमा नृत्य प्रस्तुत भएको थियो। कार्यक्रममा राजा राजेन्द्र पोखरेलको हास्य प्रस्तुति एवं गायिका विन्दु परियारले गायन प्रस्तुत गरेकी थिइन्। बुधबारको सांस्कृतिक कार्यक्रमअन्तर्गत भने लाइभ ब्याण्ड प्रतियोगितासँगै विभिन्न जातजातिको मौलिक प्रस्तुति तथा चलचित्र ‘तिम्रो मेरो साथ’का कलाकारहरु साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का र सन्दीप क्षेत्री तथा गायिका अस्मिता अधिकारीको प्रस्तुति रहने छ।

२०० जनाको स्वास्थ्य परीक्षण
मंगलबार महोत्सव स्थलमा आयोजना गरिएको स्वास्थ्य शिविरमा २०० जनाले स्वास्थ्य परीक्षण गराएका छन्। नेपाल रेडक्रस सोसाइटी चितवन र एनपिएल समाज कल्याण संस्थासँगको सहकार्यमा महोत्सव अवलोकनका लागि आउने व्यक्तिको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो। उद्योग वाणिज्य संघ चितवनका कार्यसमिति सदस्य एवं स्वास्थ्य समिति संयोजक धनप्रसाद पोखरेलकाअनुसार स्वास्थ्य शिविरमा मधुमेह एवं उच्च रक्तचापको परीक्षण गरिएको थियो।
त्यसैगरी, स्वास्थ्य शिविरबाट जुका, टाउको दुखेकोलगायतका औषधिसमेत उपलब्ध गराइएको थियो। स्वास्थ्य कार्यालय चितवन र औषधि व्यवसायी संघ चितवनको सहयोगमा औषधिसमेत निःशुल्क वितरण गरिएको पोखरेलले जानकारी दिए। उनका अनुसार महोत्सवस्थलभित्र २७ र ३० गते रक्तदान कार्यक्रम, २८ र २९ गते निःशुल्क दन्त परीक्षण तथा रक्तचाप परीक्षण तथा माघ ३ गते आँखा शिविर सञ्चालन गरिने छ। चितवन महोत्सव अवलोकन गर्न आउने जोकोही अवलोकनकर्ताले निःशुल्क स्वास्थ्य परीक्षण गराएर लाभ लिनसक्ने उनले बताए।
Facebook Comments


























