चितवन । फेन्सी व्यवसायी संघ चितवनको अध्यक्षमा शंकरप्रसाद घिमिरे निर्वाचित भएका छन्। संघको सोमबार सम्पन्न ३४औं साधारणसभा तथा १८औं अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको हो। संस्थापन पक्षका यमप्रसाद घिमिरेलाई भारी मतान्तरले पछि पार्दै संस्थापन बाहिरका शंकरप्रसाद विजयी भएका हुन्। ४८९ मतसहित शंकरप्रसादले विजय हासिल गर्दा तत्कालीन वरिष्ठ उपाध्यक्ष यमप्रसाद घिमिरेले जम्मा २२२ पाए।
वरिष्ठ उपाध्यक्षमा भने रामप्रसाद पौडेल विजयी भएका छन्। ४५५ मतसहित पौडेलले जीत हासिल गर्दा अर्का प्रतिस्पर्धी पाण्डव ढकालले जम्मा २३९ मत पाए। निर्वाचित पौडेल भने यमप्रसाद समूहबाट उम्मेदवार बनेका थिए। उपाध्यक्षमा शंकर समूहकै मीना बस्याल तिवारी विजयी भइन्। उनले ३६६ मत ल्याउँदा उनको निकटतम प्रतिद्वन्द्वी डिलाराम खरेलले जम्मा ३२२ मत ल्याए।
यस्तै सचिवमा टंकप्रसाद सापकोटा विजयी भए। ३७५ मतसहित सापकोटा विजयी हुँदा यमप्रसाद समूहका विवेक कँडेलले ३३३ मत पाए। कोषाध्यक्ष पदमा रमेशप्रसाद गुप्ता सर्वसम्मत निर्वाचित भइसकेका थिए। पदाधिकारीमा विजयी भएका वरिष्ठ उपाध्यक्षबाहेक सबै शंकर समूहका हुन्। १९ सदस्यीय कार्यसमितिमा अधिकांश शंकर समूहका निर्वाचित भएका छन्। कूल ८४७ मतदाता रहेकामा ७१७ मत खसेको थियो।


























