चितवन । बिहीबार दिउँसो करिब साढे चार बज्दा चितवन क्षेत्र नं.२ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार उमेश श्रेष्ठ र प्रदेशसभा (२) का उम्मेदवार उत्तम जोशी मत माग्दै भरतपुर महानगरपालिकाको वडा नं.४ को धर्मचोक पुगे। धर्मचोकमा रहेको चौतारोमा बसेर दुवै नेताले पालैपालो आफ्नो कुरा राख्न थाले।
त्यतिञ्जेल स्थानीय व्यापारीले बजार बन्द गरिसकेका थिए। कतिसम्म भने पसलबाहिर झुण्ड्याइएका कपडालगायत बाहिर राखिएका सामानसमेत भित्र नसारी सटर झारिएको थियो।
विगत चार वर्षदेखि सडक निर्माण अलपत्र पारेपछि यहाँका स्थानीय र व्यापारीले गठबन्धन दलका उम्मेदवारको चुनावीसभाको विरोधमा करिब आधा घण्टा व्यवसाय नै बन्द गरेका हुन्। धर्मचोक क्षेत्रको पश्चिमतर्फ वैकुण्ठचोक र पूर्वतर्फ चिसापानी चोकको सानो नहरसम्म करिब एक किलोमिटर बाटो निर्माण अलपत्र पारेपछि त्यसैको विरोधमा दल र उम्मेदवारविरुद्ध आन्दोलनस्वरुप व्यवसाय नै बन्द गरेको स्थानीय व्यापारी भोजनारायण कँडेलले जानकारी दिए।
उनका अनुसार बाटोको अवस्था विजोग भएपछि स्थानीयले केही दिन अघिदेखि नै उम्मेदवार आउँदा बजार बन्द गरेर विरोध गर्ने सल्लाह भएको थियो। सोहीअनुसार बिहीबार उम्मेदवार पुग्दा व्यापारी सबैले आफ्नो व्यवसाय बन्द गराएका हुन्।
यही ठाउँमा कात्तिक १ गते अर्का उम्मेदवार रवि लामिछाने आउँदा भने उनको भव्य स्वागत भएको थियो। चितवन क्षेत्र नं.२ बाट प्रतिनिधिसभा सदस्य पदका लागि पाँच दलीय गठबन्धनको तर्फबाट उमेश श्रेष्ठ, नेकपा एमालेको तर्फबाट कृष्णभक्त पोखरेल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने चुनावी मैदानमा छन्।


























