भरतपुर । ६० को दशकमा प्रकाशित बहुचर्चित लोक तथा दोहोरी गीत ‘कृष्ण भीरमा जाम’, ‘हङकङ आइडिले’, ‘माझी दाइ’ आदिका माध्यमबाट घरघरमा पुग्न सफल लोकप्रिय गायक एवम् सर्जक मिलन लामा (विष्णु) यतिबेला गीत/संगीतभन्दा फरक बाटो हुँदै जनताको घरदैलोमा पुगिरहेका छन्। विशुद्ध कलाकारिता गरेर जीवन निर्वाह गर्नुका साथै सामाजिक अभियानमा जोडिएका गायक लामा मंसिर–४ को लागि घरदैलोमा दौडिएका हुन्।
गीत/संगीतको माध्यमबाट आम स्रोता तथा दर्शकले सहर्ष स्वीकार गरेका उनै गायक लामालाई प्रतिनिधिसभा सदस्यमा मतदाताले कत्तिको विश्वास गर्छन् भन्ने कुराको अन्तिम निर्णय थाह पाउनको लागि मत परिणाम सार्वजनिक भएपछि मात्रै थाह होला। तर, उनले आफ्नो पक्षमा मत ल्याउनको लागि सक्दो प्रयास गरिरहेका छन्।
मतदातासँग प्रत्यक्ष भेटेर आफ्नो चुनावी एजेण्डा सुनाउने र जनताका कुरा पनि सुन्ने काम गरिरहेका छन्। उनले आफू जनताको सेवक भएर काम गर्नको लागि प्रतिनिधिसभामा उमेदवार भएको बताउँदै आएका छन्। ‘म जनताको शासक होइन, सेवक भएर काम गर्न चाहन्छु,’ चुनावी प्रचारप्रसारका क्रममा उनले भने, ‘त्यसको लागि आम मतदाताले संसदसम्म पुर्याइदिन मतदानको भूमिका खेलिदिनुपर्नेछ।’
चितवन क्षेत्र नं.१ बाट प्रतिनिधिसभामा उमेदवारी दिएका गायक लामाले यसपटक जनताले आफ्नो ठाउँको लागि मत परिवर्तन गर्नेमा आफू विश्वस्त रहेको बताए। ‘काठमाडौँ र धरानका जनताले बुद्धि पुर्याएर नयाँ नेतृत्व चुनेजस्तै अब चितवन–१ का आम मतदाताले पनि बुद्धि पुर्याउनुहुनेछ भन्नेमा म विश्वस्त छु,’ उनले भने।
दलका नेताबाट सामान्य भुइँमान्छेका कुरा संसदसम्म पुर्याउनै नसक्ने हुँदा त्यही भुइँमान्छेको आवाज बोकेर संसद प्रवेश गर्ने र जनताको सेवाको लागि आफू राजनीतिमा आएको उनको भनाइ छ। जनताका हर समस्या स्थानीय तहबाट समाधान हुन सम्भव नहुने हुँदा संघीय संसद नै रोजेको समेत उनले बताए। ‘कतिपय विकास निर्माणका काम स्थानीय सरकारबाट पनि गर्न सकिन्थ्यो। तर, सबै सम्भव नहुने रहेछ,’ उनले भने, ‘त्यसको लागि संघीय सरकार नै चाहिने हुँदा प्रतिनिधिसभामा यसपटक उमेदवार बनेको हुँ।’
सामाजिक सञ्जालमार्फत खर्च जुटाएरै भए पनि २५ जना विपन्न नागरिकको घर निर्माण गरिदिएको उदाहरण थप्दै उनले भने, ‘सामाजिक सञ्जालमा साथीभाइसँग सहयोग मागेर विकास निर्माणको कामले पूर्णता पाउन सजिलो छैन,’ उनले भने, ‘त्यसैले एकपटक सरकारी पदमै बसेर जनताको समस्या बुझ्ने र समाधानको बाटो रोज्ने उपाय अपनाएको हुँ।’ अहिले उनी घरघरमा मत माग्न पुगेका छन्। कलाकार भएकै कारण कसैले गीत गाउन आग्रह गर्दा उनले गीतबाटै मत मागिरहेका छन्। मतदाता पनि उमेदवार लामाप्रति उत्साहित देखिएका छन्।


























