चितवन । आसन्न निर्वाचनको मुखमा चितवन कांग्रेसभित्र आन्तरिक किचलो देखिएको छ। बुधबार रातिदेखि पार्टी सभापित राजेश्वर खनाल र सचिव ध्रुव पोखरेलबीचको आन्तरिक टकराव सतहमै देखिएको हो। पार्टीको कारवाहीमा परेका कांग्रेस चितवनका पूर्वसभापित विकाश कोइरालाले बुधबार चियापान कार्यक्रम आयोजना गरेको विषयलाई लिएर वर्तमान पदाधिकारीबीच झगडा भएको हो।
पार्टीका पूर्वसभापित कोइरालाले चियापान कार्यक्रम आयोजना गरेको विषयमा पार्टी सभापित खनालले विकाश कोइराला कांग्रेसको कुनै पनि पदमा नरहेको र जिल्लाको पूर्वसभापति भएको समेत उल्लेख नगरी उक्त कार्यक्रममा कुनै पनि व्यक्तिलाई सहभागी नहुन विज्ञप्तिमार्फत् अनुरोध गरेपछि सचिव पोखरेल पार्टी सभापतिविरुद्ध विज्ञप्तिमार्फत नै उत्रिएका हुन्। उनले विकास कोइराला कुनै समय कांग्रेस चितवनको सभापति भइसकेको हुँदा उनलाई पूर्वसभापति नभनेर निर्वाचनको मुखमा कांग्रेस कार्यकर्तालाई विचलित बनाउने काम वर्तमान सभापति खनालबाट भएको बताएका छन्।
निर्वाचनको मुखमा पार्टी सभापतिले घृणित कार्य गरेको भन्दै त्यस्ता कृयाकलापबाट सच्चिनसमेत सचिव पोखरेलले सभापति खनाललाई आग्रह गरेका छन्। नेता कोइराला दोस्रो संविधानसभाको निर्वाचनमा पार्टीका केन्द्रीय सभापति स्वर्गीय सुशील कोइरालाविरुद्ध तत्कालीन चितवन-४ बाट स्वतन्त्र उम्मेदवार बनेको भन्दै पार्टी केन्द्रीय समितिले कारवाही गरेको थियो।
गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टी निर्णयविरुद्ध गएको भन्दै कांग्रेस चितवनका अर्का पूर्वसभापित कृष्णलाल सापकोटालाई पनि पार्टीले कारवाही गरेको थियो। हालका सभापति खनालले मंगलबार विज्ञप्ति जारी गर्दा कांग्रेस चितवनका पूर्वसभापतिहरुको नामावली भन्दै विकाश कोइराला र कृष्णलाल सापकोटाको नाम नसमेटिकन विज्ञप्ति जारी गरेपछि पार्टीको इतिहास बिर्सेर कांग्रेस चितवनलाई कमजोर बनाउने प्रयास वर्तमान सभापतिबाट भएको भन्दै खनालविरुद्ध पोखरेल उभिएका हुन्।


























