चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष एवम् पूर्वमन्त्री विक्रम पाण्डेले देश विकासको लागि आयोजनाको आवश्यकता पर्ने बताएका छन्। भरतपुर–१४ शिवनगरस्थित शिवशक्ति युवा क्लबले आयोजना गरेको चुनावी भेटघाट तथा अन्तरक्रिया कार्यक्रमा चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार हरेका पाण्डेले भने, ‘देशको विकास गर्न योजना होइन, आयोजना चाहिन्छ, किनकि महानगर भएको जिल्लामा योजनाको टालटुले विकासले विकास हुँदैन।’
चितवनवासीले विश्वास गरेको खण्डमा टालटुले विकासलाई हटाएर ठूला आयोजना ल्याउने ‘प्लान’ आफूसँग रहेको उनले बताए। ‘देशको विकास गर्न मसँग ठूलो योजना छ, म प्लानबिना तपाइँको सामु उपस्थित भएको होइन,’ उनले भने। देशको हविगत खस्किँदै जानुमा सरकार नै कमजोर भएको हुँदा देशको सक्षम जनशक्ति विदेशिन बाध्य भएका नेता पाण्डेले बताए।
सरकारले ठूलो आयोजनासहित हरेक निर्वाचन क्षेत्रमा विकास गर्ने हो भने कुनै पनि स्वदेशी युवा विदेशको बाटोमा नहिँड्ने उनको भनाइ छ। यसअघि आफू मन्त्री हुँदा सीमित समयमात्रै पदमा बस्न पाएको हुँदा केही कामको सुरूवात मात्रै गर्न सकेको उनले बताए। माडीमा भएको पुल निर्माणलाई उदाहरण दिँदै उनले भने, ‘म मन्त्री हुँदा माडीमा १९ वटा पुलको टेण्डर भयो। तर, काम नसकिँदै म बाहिनु पर्यो। समय पाएको भए ती पुल निर्माण सम्पन्न हुनको लागि यतिका समय कुनै पर्थेन।’


























