बारा । जिल्लामा डेङ्गुको प्रकोप बढ्दै गएको छ। डेङ्गुका बिरामी बढ्न थालेपछि सर्वसधारणमा त्रास छाएको छ। गत भदौ २८ गतेदेखि परीक्षण हुन थालेपछि अहिलेसम्म डेङ्गुका ४४ बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख रामनरेशप्रसाद यादवले जानकारी दिए। उनका अनुसार कलैया अस्पतालमा ११ जना, जनस्वास्थ्य कार्यालयमा नौ र निजगढमा २४ डेङ्गुका बिरामी फेला परेका छन्।
केही उपचारपछि घर फर्केका छन् भने कतिपयको प्रदेशिक अस्पताल कलैयामा उपचार भइरहेको यादवले बताए। डेङ्गु परीक्षण गर्न कीटको अभाव भएको छ। कीट आपूर्तिका लागि सम्बन्धित निकायलाई जानकारी गराएको यादवले बताए। डेङ्गु अझै बढ्न सक्ने उनको भनाइ छ।
डेङ्गुको संक्रमण तीव्र भए पनि मानवीय क्षेति भने भएको छैन। डेङ्गुबाट बच्न घर वरपर सरसफाइ, पूरै शरीरभरि कपडा लगाउन, खाल्डाखुल्डीमा पानी जम्न नदिन र सावधानी अपनाउन प्रदेशिक अस्पताल कलैयाका डा विकेश पाण्डेयले सुझाव दिएका छन्।

























