चितवन । गत आइतबार दिउँसो करिब साढे १ बजेको समयमा यो तस्बिर राष्ट्रिय समाचार समितिमा प्रकाशन भएपछि विभिन्न सञ्चारमाध्यम हुँदै सामाजिक सञ्जालसम्म फैलियो। त्यसपछि सुरु भएको टिकाटिप्पणीले अहिलेसम्म पनि उत्तिकै स्थान पाइरहेको छ। नारायणी नदी किनारमा खाल्टो पुर्ने बहानामा फोहोर पुरेको भन्दै अभियन्ताहरु आन्दोलित छन्। उनीहरुले पुरेको फोहोर जसरी भए पनि निकालेर ल्याण्डफिल साइटमा लैजान भरतपुर महानगरपालिका र उद्योग वाणिज्य संघ चितवनलाई चुनौती दिइरहेका छन्।
यसबाट वातावरणमा नराम्रो असर पर्ने भन्दै वातावरणको ख्याल नगरी नदी किनारमा फोहोर पुरेको उनीहरुको आरोप छ। भरतपुर महानगरपालिका र उद्योग वाणिज्य संघ भने यस विषयमा आफूहरुबाट गल्ती नभएको भन्दै आ-आफ्नै अडानमा बसेको छ। वातावरणमा असर पर्छ कि पर्दैन भन्ने विषयमा अध्ययन गरेरै नकुहिने र पुनःप्रयोगमा नआउने खालका प्लास्टिकजन्य फोहोर मात्रै पुरेको भरतपुर महानगरपालिकाका वातावरण शाखा प्रमुख विराट घिमिरेको दाबी छ।
भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीसँग आक्रोश पोख्दै युवा अभियान्ताहरु
तर अभियन्ताहरुले भने जस्तोसुकै फोहोर भए पनि असम्बन्धित क्षेत्रमा विसर्जन गर्न नपाइने बताइरहेका छन्। माटोको विकल्प फोहोर हुन नसक्ने भन्दै वेटर चितवन, वे ग्रुप नेपाल, नेपाल विकास समाज, हाम्रो दृष्टी-राम्रो दृष्टीलगायतका सामाजिक अभियानसम्वद्ध संघसंस्थाले त्यसको विरोध जनाउँदै आएका छन्। नदी किनारमा गाडेको फोहोर नउठाए सर्वोच्चसम्मको यात्रासमेत तय गर्ने अभियन्ता सागर कार्कीले बताए। यस विषयमा पटकपटक छलफल चलाउँदासमेत बेवास्ता गरिरहेको हुँदा मुद्धामै जानुपर्ने स्थिति आएको उनले बताए।
तर उद्योग वाणिज्य संघ चितवनले भने माटो नपाएकै कारण विकल्पमा फोहोरलाई छुट्याएर पुरेको बताउँदै आएको छ। माटोको लागि विभिन्न क्षेत्रमा पहल गर्दासमेत कानुनले रोक्ने हुँदा ल्याउन नसकिएको चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चुननारायण श्रेष्ठले बताए। ‘नहरको बलौटे माटोसमेत ल्याउने प्रयास गर्दा पनि टेण्डर नलागी ल्याउन नमिल्ने हुँदा विकल्प नै भएन,’ उनले भने, ‘त्यसैले भरतपुर महानगरपालिकाले अध्ययन गरेरै फोहोर पुरेको हो।’ 
फोहोर पुरेर सम्याएको ठाउँमा पानी हालेर भिजाउँदै
पुस २५ गतेबाट यही मैदानमा चितवन महोत्सव हुँदैछ। त्यसलाई विथोल्नका लागि पनि विभिन्न तत्वहरु सक्रिय भएको संघको आरोप छ। बाहिर विरोध भइरहे पनि फोहोर पुरेको ठाउँमा भने पानी हालेर भिजाइरहेको छ। त्यसमा दुबो रोपेर हरियाली बनाउने योजना रहेको भरतपुर महानगरपालिकाका वातावरण शाखा प्रमुख घिमिरेले बताए।


























