चितवन । भरतपुर–१०, शिवमन्दिर टोल निवासी सामाजिक अभियन्ता कृष्णबहादुर गुरूङ धर्म गुरू नर्बु लामा गुरूङको उपचारको लागि ‘नर्बु लामा बचाउ अभियान’मा जुटेका छन्। भरतपुर–२ स्थित महाबौध गुम्बा तीनखोलेमा विगत लामो समयदेखि धर्म गुरूको रूपमा कार्यरत गुरूङ केही समययता अस्वस्थ छन्।
लामा पक्षघातका कारण बिरामी परेपछि उपचारमा थप सहयोग मिलोस् भन्ने उद्देश्यले आर्थिक संकलन गर्न अभियान नै चलाएको युवा व्यवसायीसमेत रहेका सामाजिक अभियन्ता गुरूङले जानकारी दिए। आर्थिक स्रोत केही नभएकोले धर्म गुरूको उपचारका लागि सहयोग जुटाउनु परेको उनले बताए।
उनका अनुसार अभियान चलाएको दुई दिनमै डेढ लाख रूपैयाँभन्दा बढी संकलन भइसकेको छ। बिहीबार बिहानसम्ममा देश विदेशमा रहेका ३४ जना नेपालीबाट एक लाख ६९ हजार २१ रूपैयाँ संकलन भइसकेको उनले बताए।
आर्थिक सहयोग गरी धर्म गुरूको जीवन बचाइदिन पनि उनले आग्रह गरेका छन्। उनले यसअघि पनि इच्छाकामना–३ चैबुङकी शर्मिला गुरूङको उपचारमा पनि ११ लाख ८५ हजार रूपैयाँ आर्थिक सहयोग जुटाइदिएका थिए। अभियन्ता गुरुङले व्यवसायसँगै विगत लामो समयदेखि सामाजिक क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान दिँदै आएका छन्।
हालसालै देवघाटस्थित गुरुङ समुदायको समाधिस्थलमा खानेपानीको व्यवस्था गरिदिनुका साथै बौद्ध धर्म सेवा समितिको अर्घौ घरको लागि आवश्यक प्लास्टिकका कुर्ची सहयोग गरेका छन्। कृष्णबहादुर गुरुङ हाल तमू ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद चितवनका उपाध्यक्षसमेत हुन्।


























