चितवन । कालिका नगरपालिकाले स्थापना गरेको नगर अस्पतालले भिडियो एक्सरे सेवा सुरु गरेको छ। तत्कालका लागि दुई दिन (आइतबार र बिहीबार) अस्पतालले भिडियो एक्सरे सेवा दिने अस्पतालले जनाएको छ। आइतबारदेखि सुरु भएको सेवाअन्तर्गत पहिलो दिन नै सातजनाको एक्सरे गरिएको नगर प्रमुख विनोद रेग्मीले जानकारी दिए।
नगरपालिकाकै मातहतमा सञ्चालित अस्पतालले चौबीसै घण्टा सेवा दिने गरी सेवा सुरु गरिएको उनले बताए। अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन सकेसम्मको प्रयास गरिने उनले बताए। अस्पतालको लागि हाल पाँच जना चिकित्सक र दुईजना स्टाफ नर्स कार्यरत छन्।
अस्पतालमा औषधिको अभाव हुन नदिन ५९ लाखको औषधि टेन्डर प्रक्रियामार्फत खरिद गरिएको नगर प्रमुख रेग्मीले जानकारी दिए। अस्पतालले आफ्नै ल्याब प्रयोगशाला समेत सञ्चालनमा ल्याएको छ। ‘सामान्य बिरामीले स्वास्थ्योपचारका लागि भरतपुर धाउनुपर्ने बाध्यता अन्त्य भएको छ,’ नगर प्रमुख रेग्मीले भने।


























