चितवन २६ चैत । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले सामुदायमा आधारित स्वास्थ्य सेवा प्रभावकारी भएको बताएकी छन्। आफू मेयरमा निर्वाचित भएर आएपछिको पहिलो काम नै भरतपुर अस्पतालमा महिला तथा वृद्धवृद्धाहरुका लागि निःशुल्क टिकटको व्यवस्था गरेर सुरु गरेको बताउँदै त्यसैको फलस्वरुप समग्र महानगरभित्रको स्वास्थ्य सेवा तथा सचेतनाको क्षेत्रमा उल्लेखनीय काम भएको बताएकी हुन्।

शनिबार भरतपुरमा आयोजित मेयरसँग महिला सामुदायिक स्वास्थ्य स्वयमसेवीका कार्यक्रममा उनले भनिन्, ‘विगतमा महिला स्वास्थ्य स्वयंमसेविकालाई न्यूनतम सेवा सुविधा प्रदान गरिरहेको र आउँदा दिनहरूमा यसलाई बढाएर लैजाने योजना बनाएकी छु।’ यातायात तथा सञ्चार खर्च र चार्डपर्व खर्च थोरै भए पनि सुरूवात गरिएको उनले बताइन्। ६० वर्ष उमेर पुगेका स्वयंमसेविकालाई ५० हजार नगदसहित सम्मान गर्ने कार्यको सूरूवात गरिएको समेत उनले बताइन्।

कार्यक्रममा भरतपुर अस्पताल विकास समितिका अध्यक्ष एवम् वरिष्ठ फिजिसियन डा भोजराज अधिकारीले महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविकाहरूले समुदाय स्वास्थ्य सेवा प्रवाहको क्षेत्रमा महत्त्वपूर्ण काम गरेको बताए। साथै स्वास्थ्य सचेतना तथा खोप र स्वस्थ जीवनयापनमा राष्ट्रलाई योगदान दिएकोमा महिला स्वास्थ्य स्वयंमसेविकाप्रति आभार प्रकट गरे।
Facebook Comments

























