चितवन । भरतपुर अस्पतालमा अति विशिष्टिकृत (सुपर स्पेशलिष्ट) क्लिनिकको औपचारिक शुभारम्भ गरिएको छ। बिहीबारबाट उक्त सेवाको औपचारिक शुभारम्भ गरिएको हो। अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलका अनुसार हाल ११ वटा अति विशिष्टिकृत क्लिनिक शुरु गरिएको हो। यसमा आवश्यकताअनुसार थप हुँदै जाने प्राडा पौडेलले बताए। विशेषज्ञ क्लिनिक र जिओपिडीबाट रिफर भएमा बिहान १० देखि १ बजेसम्म अतिरिक्त शुल्क बुझाउनु नपर्ने गरी अति विशिष्टिकृत सेवा लिन सकिने उनको भनाइ छ।
दिउँसो १ देखि २ बजेसम्म पेइङ क्लिनिकमा रु.५०० को टिकट लिएर १ देखि दिउँसो ४ बजेसम्म अति विशिष्टिकृत सेवा लिन सकिने उनले बताए। अति विशिष्टिकृत क्लिनिक सञ्चालन गरेको उपत्यका बाहिर भरतपुर अस्पताल नै पहिलो भएको उनले दाबी गरे।
उक्त सेवाअन्तर्गत हेपाटोलोजी (कलेजो रोग), युरोलोजी (मुत्रासयसम्बन्धी) कार्डियोलोजी (मुटुसम्बन्धी) नेफ्रोलोजी (मृगौलासम्बन्धी), न्यूरो सर्जरी (टाउको तथा नसासम्बन्धी), स्पाइनल (हाडजोर्नीसम्बन्धी), स्पोटर्स मेडिसिन (घुँडा तथा जोर्नीसम्बन्धी), एडल्ट रिकस्टक्सन (जोर्नी प्रत्यारोपणसम्बन्धी), नेओनाटोलोजी (नवजात शिशुसम्बन्धी), पेरिओ–डन्टोलोजी (गिजासम्बन्धी), मेक्जियोफेसियल (अनुहारको हाडजोर्नीसम्बन्धी) सेवा उपलब्ध छन्।

अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि बिहान ८ देखि बेलुका ५ बजेसम्म जनरल बहिरंग सेवा (जिओपिडी) सेवा शुरु गरेको छ। दन्त सेवाको बहिरंग सेवा भने बिहान ९ः३० देखि बेलुका ५ बजेसम्म सञ्चालन गरिएको छ। अन्य नियमित बहिरंग सेवा, शल्यक्रिया (ओटी) तथा क्लिनिकल सेवालगायतका सेवा भने बिहान ९ः३० देखि दिउँसो २ः३० बजेसम्म सञ्चालन हुने अस्पतालले जनाएको छ।
बहिरंग र जिओपिडीको टिकट काट्ने समय पनि परिवर्तन गरी सबैखाले बहिरंग सेवाको टिकट बिहान ७ः३० देखि १२ बजेसम्म खुला हुने अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए। शुक्रबार भने ओपिडीको चेकजाँच १ः३० बजेसम्म र जिओपिडी तथा पेइङ ओपिडी सेवा दिउँसो ३ बजेसम्म कायम गरिएको उनले बताए।


























