चितवन । सडक विभागले बाटो फराकिलो बनाउने नाममा डीलादेवीको घरमा डोजर चलायो। भरतपुर-१० ट्राफिक चोकमा २०२५ सालमा बनेको सानो टहरामा डोजर चलाइदिएपछि ६२ वर्षीया रिजालको उठिवास लागेको छ। २०६० सालमा श्रीमानले संसारबाट बिदा लिएपछि १७ वर्षयता उनी एक्लै छिन्। डीलादेवीको घर भत्काउन सडकले वर्षौँदेखि ताकेता गर्दै आएको थियो। निःसन्तान डीलादेवीको बसिरहेको टहरो भत्किएपछि अन्त बस्ने ठाउँ कतै छैन। भएको घरसहितको बारी पनि सडकले विभागका कर्मचारी र प्रहरी प्रशासन लगाएर मंगलबार डोजर चलाइदिएपछि हातमा लालपूर्जा मात्रै छ।
क्यान्सर रोगबाट समेत ग्रस्त उनले मंगलबार डोजर चलाइएको घरजग्गाको राजस्व एक हप्ताअघिमात्रै बुझाएकी थिइन्। विकासको नाउँमा डीलादेवीहरु विस्थापित भएका छन्। पुलचोक-गोन्द्राङ सडक खण्डलाई ६ लेनको बनाउने बहानामा डीलादेवीको घर भत्काइएको हो। बाटोले गर्दा आफ्नो घर भत्किने थाह पाएपछि डीलादेवीले वडादेखि महानगर र सडक विभागसम्म हार गुहार गरिन्। तर उनको दबेको आवाज कसैले सुनेनन्। अन्ततः घरमा डोजर चलाएरै छाड्यो।
घर भत्कने भएपछि न्यायका लागि पीडित समूहले सर्वोच्च अदालतमा मुद्धासमेत दर्ता गरेको थियो। सर्वोच्चले ०७७ पुस २४ गतेको अल्पकालीन अन्तरिम आदेश जारी गर्दै नभत्काउन भन्यो। अहिलेसम्म पूर्ण आदेश आएको छैन। तर आदेश नआउँदै डीलादेवीको घर भने सडक विभागले भत्काइदिएको छ। घर भत्काए पनि कानुनअनुसारको मुआब्जा पाउनुपर्छ भन्ने पक्षमा छिन् डीलादेवी। राज्यले मुआब्जा दिएको आफूले सुने पनि आफूले नपाएको उनको गुनासो छ।
मंगलबार सडकले भरतपुर विमानस्थलदेखि चौबिसकोठीसम्मको करिब ३२० मिटरको दूरीमा परेमा सातवटा घरटहरा डोजर लगाएर भत्काइदिएको हो। उक्त सडकको मापदण्डअनुसार सडकको बीचभागबाट दायाँबायाँ २५/२५ मिटर छाड्नुपर्दा व्यक्तिका निजी निवासमा डोजर लगाइएको हो।


























