चितवन। गत वर्ष चैत १५ गते गठन भएको भरतपुर प्रज्ञाप्रतिष्ठानको कार्यसमितिले पूर्णता पाएको छ। भरतपुर महानगरपालिकाको सभाहलमा सम्पन्न प्रतिष्ठानको पहिलो बैठकमा थप ६ जना सदस्यले सपथ लिएसँगै समितिले पूर्णता पाएको हो। प्रतिष्ठानको नयाँ सदस्यहरुलाई भरतपुर महानगरपालिकाकी मेयर एवम् प्रतिष्ठानकी कुलपति रेनु दाहालले पद तथा गोपनियताको सपथ ग्रहण गराएकी थिइन्।
उपप्रमुख चित्रसेन अधिकारी, ३ जना कार्यपालिका सदस्यसहति ६ जनाले सपथ लिएका हुन्। स्थानीय तहको निर्वाचनले गर्दा प्रतिष्ठानले कुनै पनि गतिविधि सञ्चालन गर्न पाएको थिएन। भरतपुरको संकृति, साहित्य सभ्यताको संरक्षण, जगेर्ना तथा उत्थानका लागि प्रतिष्ठानको स्थापना भएको हो। प्रतिष्ठानमा कला, साहित्य, संस्कृतिलगायतका विभिन्न क्षेत्रका व्यतित्वले प्रतिनिधित्व गरेका छन्। सपथ ग्रहण गराएसँगै प्रतिष्ठानकी कुलपति दाहालले प्रतिष्ठानले भरतपुर तथा समग्र राष्ट्रको बौद्धिक विकासमा महत्त्वपूर्ण योगदान दिने वचन दिइन्।
प्रतिष्ठानको विकास एवम् सम्वर्द्धन गर्ने विषयलाई महानगरको आगामी नीति तथा कार्यक्रममा समावेश गरिने कुलपति दाहालले बताइन्। प्रतिष्ठानले पहिलो बैठकमा १९ बुँदे प्रस्तावित कार्यक्रमहरू बारेमा छलफल गरेको थियो। छलफलका क्रममा लोपोन्मुख भाषा, संस्कृतिको संरक्षण, स्थानीय कलाको संरक्षण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कृतिहरुको अनुवाद, महानगर पुस्तकाललाई व्यवस्थित गर्नेलगायतका विषयले प्राथमिकता पाएको थियो।
प्रतिष्ठानले अध्ययन तथा अनुसन्धान, पठन संस्कृतिको विकास, शब्दकोष, अन्तर्राष्ट्रिय कृतिको अनुवाद तथा भरतपुरको प्रज्ञिक गरिमालाई उच्च राख्ने गरी विभिन्न कार्यक्रम अगाडि बढाउने निष्कर्ष निकालेको प्रतिष्ठानका उपकुलपति इन्द्रप्रसाद रेग्मीले जानकारी दिए। प्रतिष्ठानले आगामी नगरसभाका लागि प्रतिष्ठानको तर्फबाट नीति तथा कार्यक्रममा प्रतिष्ठानको विकासको लागि प्रथामिकतामा राख्न मागसमेत गरेको छ।


























