चितवन। पछिल्लो समय चितवनमा मानवीय क्षति नै हुने गरी बाघको गतिविधि बढ्न थालेपछि नियन्त्रणका प्रयास भइरहेका छन्। मान्छे खाएका नरभक्षी बाघ नियन्त्रणमा लिने क्रम बढ्दै गएपछि नियन्त्रित बाघको लागि तयार पारिएका सबै खोर भरिएका छन्। हाल कसरामा दुईवटा र सौराहामा दुई वटा खोरमा बाघ राखिएका छन्। थप बाघ नियन्त्रण गर्नुपरेमा खोर अभाव हुने निकुञ्जले जनाएको छ। यही अवस्थाले निरन्तरता पाइरहे नियन्त्रणमा रहेका बाघलाई छोड्नु वा अन्यत्र पठाउनुको विकल्प नरहेको निकुञ्जले जनाएको छ।
निकुञ्जको मुख्य कार्यालय कसरामा बाँकेबाट ल्याइएको झण्डै आठ वर्षको भाले बाघ र चितवन राष्ट्रिय निकुञ्जकै देवनगर वेलसहर सामुदायिक वनमा दुई वर्षअघि नियन्त्रणमा लिइएको अन्दाजी १० वर्षको भाले बाघ छन्। निकुञ्जको वन्यजन्तु अस्पताल सौराहामा यही वैशाख २७ गते राप्तीबाट नियन्त्रणमा लिइएको अन्दाजी १० वर्षको भाले बाघ छ। निकुञ्जका अनुसार भरतपुरको राधाकृष्ण सामुदायिक वनमा गएको बिहीबार नियन्त्रणमा लिइएको अन्दाजी सात वर्षको भाले बाघ वन्यजन्तु अस्पतालको खोरमा राखिएको छ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार कसरामा दुईवटा बाघ अट्ने गरी एउटा खोर बन्दै छ। झण्डै एक महिनामा सक्ने गरी काम भइरहेको उनले जानकारी दिए। कसरामा रहेका दुई खोरमध्ये एउटा कच्ची खोर हो भने एउटा पक्की हो। कच्चीलाई पनि मर्मत गरेर तयारी अवस्थामा राखिँदै छ। हाल सो खोरमा बाघ रहेकाले छोडेपछि वा नयाँमा सारेपछि खोरको मर्मत गरिने छ। आचार्यले भने, ‘तत्काल बाघ नियन्त्रण गर्नुपर्ने भएमा हामीसँग ठाउँ छैन। भइरहेकालाई अवस्था हेरेर छोड्नुको विकल्प छैन।’
यसवर्ष धेरै बाघ नियन्त्रणमा लिनु परेको उनले बताए। चालू आर्थिक वर्षमा हालसम्म बाघको आक्रमणबाट १६ जनाको मृत्यु भएको छ, जसमध्ये एक जना कर्मचारीको निकुञ्जभित्र मृत्यु भएको हो। दुई जनाको दाउन्नेको जङ्गलमा र १३ जनाको मध्यवर्ती वन क्षेत्रमा बाघले खाएर मृत्यु भएको हो। उनका अनुसार साउन यता चारवटा बाघलाई नियन्त्रणमा लिइएर खोरमा राखिएको थियो। तीमध्ये एउटा छोडेपछि मरेको छ भने अर्को एउटालाई छोडेर अनुगमन गरिँदै आएको छ।
बाघको आक्रमणबाट धेरै मानिसको मृत्यु भएको यो हालसम्मकै उच्च हो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार अघिल्लो आर्थिक वर्षमा बाघको आक्रमणबाट पाँच जनाको मृत्यु भएको थियो। बाघको सङ्ख्या बढेका कारण बाघ धेरै देखिएको र घटना भएको अनुमान गरिएको छ। सन् २०१८ मा गरिएको गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ९३ वटा बाघ थिए। त्यतिबेला देशभरको सङ्ख्या २३५ थियो। – रासस


























