चितवन । विवेकशील साझा पार्टीबाट भरतपुर महानगरको मेयर पदका प्रत्यासी ई प्रवीन काफ्लेले वन्यजन्तु र मानवबीचको द्वन्द्व कम गराउनुपर्नेबारे ध्यानाकर्षण गराएका छन्। आइतबार चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसरा पुगेरै काफ्लेले चितवनमा पछिल्लो समय मानवमाथि वन्यजन्तुको आक्रमण बढ्दै गएकोबारे गम्भीर ध्यानाकर्षण गराएका हुन्।
चितवन राष्ट्रिय निकुञ्ज वरपरका सामुदायिक वन, मध्यवर्ती वन सीमा क्षेत्रका नागरिकको बसोबास क्षेत्रमा दिनहुँजसो वन्यजन्तु आक्रमणका घटनाहरु बढिरहँदा यसविषयमा निकुञ्ज प्रशासन पनि गम्भीर हुनुपर्ने उनको भनाइ छ। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यलाई भेटेरै वन्यजन्तु आक्रमण रोक्न नागरिकको तर्फबाट पनि पहलकदमी लिन जरुरी देखिने सुझाव दिए।
चितवनमा पछिल्लो समय वन्यजन्तुको आक्रमण दिनहुँजसो भइरहेको छ। त्यसमा पनि सबैभन्दा धेरै बाघको आक्रमण बढिरहेको छ।



























