मकवानपुर । विभागीय टाेली नेपाल पुलिस क्लब हेटौँडामा जारी शहीद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता–२०७९ को सेमिफाइनलमा प्रवेश गरेको छ। हेटौँडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा मंगलबार सम्पन्न खेलमा मनाङ मर्स्याङ्दीलाई १–० गोलअन्तरले पराजित गर्दै पुलिसले अन्तिम चारकाे सेमिफाइनलमा स्थान पक्का गरेकाे हो।
पुलिसको जीतमा निर्णायक गोल भरत शाहले गरेको थिए। उनले खेलको ३४औँ मिनेटमा गोल गरेका थिए। मनाङ मर्स्याङदीले खेलको ४१औँ मिनेटमा प्राप्त पेनाल्टी गोल गर्न सकेन। पुलिसका गोलरक्षक शत्रुधन चौधरीले मनाङका कप्तान अञ्जन विष्टले गरेको प्रहार बचाएका थिए। पुलिसले फाइनल प्रवेशका लागि विजय युथ क्लब हेटौँडा र नवजनजागृति युवा क्बल सिमराबीचको बिजेतासँग प्रतिस्पर्धा गर्नेछ।
पुलिसका खेलाडी हेम तामाङले खेलको अन्तिम समयमा रातो कार्ड पाए। रेफ्रीको निर्णयप्रति असहमति जनाएपछि प्रशिक्षक अनन्तराज थापा र बेञ्चमा रहेका खेलाडी हेमन्त श्रेष्ठलाई पनि दोहोरो पहेँलो कार्ड देखाउँदै मैदानबाट बाहिर निकालिएको थियो।
प्रतियोगितामा विभागीय क्लबहरु नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको (एपीएफ) क्लब, मनाङ मर्स्याङ्दी क्लब, फ्रेण्डस् क्लब, खुमलटार युथ क्लब, सिमराकाे नव जनजागृती क्लब, सर्लाहीको बागमती युवा क्लब, विजय युथ क्लब हेटौँडा, चितवन–११, चर्च ब्वाइज क्लब र क्यामरुनको एभिनियर एफसी सहभागी रहको आयोजकले बताएको छ।
प्रतियोगिताको बिजेताले १५ लाख र उप-बिजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्। अघिल्लो वर्षको भन्दा यसवर्ष पुरस्कार राशि वृद्धि गरिएको छ। अघिल्लो वर्ष बिजेताले १० र उप-बिजेताले ५ लाख रुपैयाँ प्राप्त गरेका थिए। प्रतियोगिताको लागि करिब १ करोड १७ लाख रुपैयाँ खर्च हुने अनुमान आयाेजकले गरेकाे छ।
अघिल्लो संस्करणमा नेपाल आर्मी च्याम्पियन हुँदा घरेलु टिम उप-बिजेता बनेको थियो। प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडलाई बुलेट मोटरसाइकल प्रदान गरिने प्रतियोगिता संयोजक प्रताप विष्टले जानकारी दिए। अघिल्लो वर्षझैं यसवर्ष पनि सर्वोत्कृष्ट खेलाडीका लागि हेटौँडाको हेटौँडा स्कुल अफ म्यानेजमेण्ट एण्ड सोसियल साइन्सेज कलेजका संयोजक पुरणबहादुर जोशीले बुलेट मोटरसाइकल उपलब्ध गराउने भएका हुन्।


























