चितवन । भरतपुर महानगरपालिकाले मंगलबारदेखि अनलाइन भुक्तानी सेवा शुरु गरेको छ। महानगरपालिकालाई पूर्णरुपमा प्रविधिमैत्री बनाउने उद्देश्यका साथ अनलाइन प्रणालीको थालनी गरिएको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले बताइन्। मंगलबारदेखि शुरु भएको यो प्रविधिको प्रयोगबाट करदाताहरुले घरमै बसेर सहजतापूर्वक तिर्न सकिने सेवाको शुभारम्भ गरिएको उनले बताइन्। भरतपुर महानगरपालिकामा तिर्ने राजस्व, कर, दस्तुरलयातका सम्पूर्ण शुल्क अनलाइन प्रणालीबाटै बुझाउन सकिने सुविधाको शुरुवात भएको उनले बताइन्।
महानगरपालिका कार्यालयलाई कागजी प्रयोगमुक्त बनाउन पनि अनलाइन प्रणालीको थालनी गरिएको उनको भनाइ छ। २०७४ सालमा निर्वाचित भएयता नै भरतपुरलाई स्मार्ट सिटी निर्माण गर्ने उद्घोष गर्दै आएकी महानगर प्रमुख दाहालले स्मार्ट सिटीको लागि चाहिने सुचकमध्ये डिजिटल प्रणाली पनि एक भएको बताइन्। अनलाइन प्रणालीले महानगरपालिकाको सुशासनलाई बाटोमा हिड्न प्रेरित गर्ने उनले बताइन्। ‘स्मार्ट सिटी निर्माण हुन जनप्रतिनिधि, कर्मचारी तथा आम जनता स्मार्ट हुन आवश्यक छ,’ उनले भनिन्।
महानगरपालिकाका उप-प्रमुख चित्रसेन अधिकारीले अनलाइन भुक्तानी प्रणालीको शुभारम्भ गरी महानगरले ऐतिहासिक कार्यको थालनी गर्न सफल भएको दाबी गरे। ‘स्मार्ट सिटी निर्माणको एउटा खुट्किलो अनलाइन भुक्तानी प्रणाली पनि हो,’ उनले भने, ‘त्यसैले यसको कार्यान्वनका लागि सबै पक्षले उतिकै चासो दिनुपर्छ।’ आफूले तिर्नुपर्ने कर मूल्यांकन गरिसकेपछि आफूले प्रयोग गरिरहेको अनलाइन पेमेन्ट गेट वे प्रणालीबाट तिर्न सकिने उनको भनाइ छ। हाललाई इ–सेवा, खल्ती, कनेक्ट आइपीएसमार्फत भुक्तानी गर्न सकिने उनले बताए।



























