चितवन । भरतपुर महानगरपालिकाको नगरकार्यपालिकामा गठबन्धनका उमेदवारहरु विजयी भएका छन्। मंगलबार सम्पन्न निर्वाचनमा सबै सदस्य गुठबन्धनबाट निर्वाचित भएका हुन्। मख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीका अनुसार नेपाली कांग्रेसबाट पाँच, नेकपा माओवादी केन्द्रबाट दुई र नेकपा एकीकृत समाजवादीबाट एक जना निर्वाचित भएका छन्। कार्यपालिकाको महिला सदस्यमा कांग्रेसबाट सिर्जना अधिकारी, सुकमाया परियार, शारदा पोख्रेल, नर्वदा सापकोटा र विना नेपाली विजयी भएका हुन्।
अधिकारीले ९१, परियारले ८९, पोख्रेलले ८७, सापकोटाले ८६ र नेपालीले ८७ मत प्राप्त गरिन्। दलित तथा अल्पसंख्यकमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीबाट एक–एक जना सदस्य निर्वाचित भए। कांग्रेसबाट ९७ मतसहित गोपाल दराई, एकीकृत समाजवादीबाट ९२ मतसहित कोपिला उपरकोटी र माओवादी केन्द्रबाट ८६ मतसहित बिष्णुबहादुर भुजेल विजयी भएका मुख्य निर्वाचन अधिकृत अधिकारीले जानकारी दिए।
गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसबाट ७७, नेकपा एमालेबाट ५०, नेकपा माओवादी केन्द्रबाट १०, नेकपा एकीकृत समाजवादी पार्टीबाट ५, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ४ र एक जना स्वतन्त्रबाट गरी १४७ जनप्रतिनिधि निर्वाचित भएका थिए।


























