चितवन । नेपाली कांग्रेस चितवनले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट उमेदवार भई जनप्रतिनीधिको रुपमा विजयी भएका पालिका प्रमुख, उप-प्रमुख र वडा अध्यक्षहरुलाई प्रशिक्षण दिएको छ। जिल्लाभित्रका पालिका प्रमुख, पालिका उप-प्रमुख र वडा अध्यक्षहरुले सम्पादन गर्नुपर्ने काम, कर्तव्य, अधिकार तथा विकास योजना तर्जुमा र बजेट व्यवस्थाबारे प्रशिक्षण दिइएको कांग्रेस चितवनले जनाएको छ। सभापति राजेश्वर खनालका अनुसार राष्ट्रियस्तरका प्रशिक्षकमार्फत प्रशिक्षण दिइएको हो।
पार्टीको जिल्ला समितिले सबै पालिकाका प्रमुख, उप-प्रमुख, वडा अध्यक्ष तथा कार्यपालिका सदस्य गरी ५५ जनालाई प्रशिक्षण दिइएको उनले बताए। कार्यक्रमा जनताको बीचमा असल शुशासन कसरी दिन सकिन्छ भनेर सहजीकरणसमेत गरिएको थियो।

जिससमा रानाभाटको नाम सिफारिस
नेपाली कांग्रेस चितवनले जिल्ला समन्वय समिति (जिसस)को संयोजकमा पूर्णबहादुर रानाभाटको नाम सिफारिस गरेको छ। कांग्रेस चितवनले शनिबार रानाभाटको नाम बागमती प्रदेश समितिमा पठाएको हो। प्रदेश समितिले केही दिनमा टुङ्गो लगाउने छ। पार्टी सभापति राजेश्वर खनालका अनुसार रानाभाट वैशाख ३० को स्थानीय तह निर्वाचनमा सर्वाधिक मतका साथ भरतपुर ८ को वडा सदस्यमा निर्वाचित भएका थिए। गौरीगञ्ज निवासी रानाभाटले दुई हजार १२८ मत प्राप्त गरेका थिए। कांग्रेस चितवनका पुराना नेता रानाभाट २०४९ सालको स्थानीय तह निर्वाचनमा साबिक भरतपुर नगरपालिका ८ को वडाध्यक्षमा निर्वाचित भएका थिए।
यस्तै नेपाली कांग्रेसले पार्टीको तर्फबाट कार्यपालिका सदस्यहरुको नाम पनि टुंगो लगाएको छ, जसअनुसार अल्पसंख्यक खुल्लाबाट गोपाल दराई र निर्वाचित महिला सदस्यमध्येबाट ४ जनाको नाम सिफारिस गरिएको छ। सभापति खनालका अनुसार जेठ २४ गते हुने जिससको निर्वाचनको लागि भरतपुर २८ की नर्मदा सापकोटा, भरतपुर १५ की सिर्जना अधिकारी, भरतपुर ६ की शारदा पोख्रेल र भरतपुर ३ की सुकमाया परियारको नाम सिफारिस गरिएको हो।


























