काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार भएको तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएकामध्ये १० जनाको शव अहिले काठमाडौँ ल्याइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार २२ जना सवार दुर्घटनामा परेको उक्त विमानमा २१ जनाको शव भेटिएको र त्यसमध्ये पहिलो चरणमा १० जनाको शव आज साँझ काठमाडौँ ल्याइएको हो। प्रतिकूल मौसमका कारण अर्का एकजनाको शव खोजी भइरहेको र भेटाउन नसकिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ।

दुर्घटनामा परेको जहाजमा मृत्यु भएकाहरुको शव निकाल्दै सेनाको टोली । तस्बिर : विमलबहादुर विष्ट/रासस
केन्द्रका अनुसार १० जनाको शव बोकेर नेपाली सेनाको एमआई १७ नामक हेलिकप्टर अहिले काठमाडौँ आइपुगेको र ती शवहरु अस्पतालतर्फ पठाइएको छ। शवको उद्धार तथा आवश्यक व्यवस्थापनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, सचिव महेश्वर न्यौपानेसहितको टोली बिहानदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको खोज तथा उद्धार समन्वय केन्द्रमा खटेका थिए। मन्त्री आलेले हवाई दुर्घटनामा परी मानवीय क्षति भएकामा दुःख व्यक्त गरेका छन्। उनले दुर्घटनाबाट भएको ठूलो मानवीय क्षतिले आफू मर्माहत भएको बताए। दुर्घटनामा परी ज्यान गुमाएका चालक दलका सदस्य एवं यात्रुमा श्रद्धाञ्जलि अर्पण र शोकाकुल परिवारजनमा समवेदनासमेत व्यक्त गरे।

दुर्घटनामा परेको जहाजकी एयर होस्टेस कृष्मी थापाकी आमा भाव विह्वल अवस्थामा। तस्बिर : राधिका कँडेल/रासस
हवाई दुर्घटनाबाट राष्ट्रलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्दै उनले दुर्घटनालाई न्यूनीकरण गरेर हवाई यात्रालाई सुरक्षित बनाउन सरोकारवाला निकायको ध्यानाकर्षण गराए। मन्त्री आलेको निर्देशनमा मन्त्रालयले विमान दुर्घटनाको छानबिन गर्न दुर्घटना जाँच आयोगसमेत गठन गरेको छ। मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्रलाल सुमन अध्यक्ष रहेको पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ। आयोगको सदस्यहरूमा क्याप्टेन दीपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन्।
भेटिएका शव सनाखत गर्न बाँकी छ। समुद्री सतहदेखि चार हजार मिटरभन्दा बढी उचाइमा रहेको घटनास्थलमा कुहिरो लागेको बताइएको छ। भेटिएका २१ शवमध्ये ११ वटा शव घटनास्थलमै रहेको र मौसममा सुधार आएपछि सम्भवतः भोलि मंगलबार पोखरा ल्याइने तर त्यहाँबाट काठमाडौँ ल्याइने उद्धार टोलीले जनाएको छ। मानापाथी हिमालको फेदीमा रहेको पहाडमा जहाज ठोक्किएर टुक्राटुक्रा परेको अवस्थामा सोमबार बिहान भेटिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई प्रदीप अधिकारीले जानकारी दिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले। तस्बिर : विमलबहादुर विष्ट/रासस
पोखराबाट आइतबार बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी कलसाइन भएको उक्त विमान बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्क विच्छेद भएको थियो। जहाजमा चालक दलका तीनजना सदस्य, १२ जना नेपाली, चारजना भारतीय र दुईजना जर्मनी नागरिकसहित २२ जना सवार रहेका थिए। -रासस


























