काठमाडौं । मुस्ताङमा दुर्घटना भएको तारा एयरको विमानमा सवार २२ जनाको मृत्यु भए पनि एक जनाको शव अझै भेटिएको छैन। २१ जनाको शव भने फेला परिसकेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए। २१औँ व्यक्तिको शवसमेत अफ्ठ्यारो खोँचमा भएकोले निकाल्न कठीन भएको उनले बताए। ‘शव खोँचमा च्यापिएको अवस्थामा भेटिएकोले निकाल्न सकिएको छैन, उक्त शव आज निकालिनेछ’ उनले भने, ‘थप एकजनाको शव चाहिँ लोकेट भएको छैन।’
फेला परेका शवमध्ये १० वटा शव भने नेपाली सेनाको हेलिकप्टरबाट राजधानी ल्याइसकिएको छ। हाल त्रिवि शिक्षण अस्पतालमा राखिएका ती शव पोष्टमार्टम गरिसकेपछि परिवारका सदस्यलाई बुझाइने उनले बताए। गत आइतबार बिहान ९ बजेर ५५ मिनेट जाँदा पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन भएको थियो।
उक्त विमान सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मानापानी हिमालको फेदीमा मा दुर्घटनाग्रस्त अवस्थामा यार्सा संकलकले फेला पारेका थिए। क्याप्टेन प्रभाकर घिमिरेले उडाएको नाइन एन–एइटी कलसाइनको उक्त जहाजमा चालक दलका तीन सदस्यसहित २ विदेशी, ४ भारतीय र १३ नेपाली गरी २२ यात्रु सवार थिए।

























