चितवन । इच्छाकामना गाउँपालिकाको अध्यक्षमा दानबहादुर गुरुङ निर्वाचित हुने पक्का भएको छ। जम्मा ७ वटा वडा रहेको गाउँपालिकाको अहिले वडा नम्बर ७ कै मतगणना भइरहेको छ, जसअन्तर्गत पालिका अध्यक्षमा नेकपा एमालेका दानबहादुर गुरुङले ५४६० मत ल्याउँदा कांग्रेसकी गीताकुमारी गुरुङले जम्मा ३९५७ मत ल्याउन सफल भएकी छन्। वडा नम्बर ७ मा खसेको २४३७ मतमध्ये १००० मत गणना गरिसकेको छ। जम्मा १४३७ मत गन्न बाँकी रहँदा दानबहादुर गुरुङले १५०३ मतले अग्रता लिएपछि एमालेका उमेदवारको जित पक्का भएको हो।
उपाध्यक्षमा भने अझै भन्न सकिने अवस्था छैन। उपाध्यक्षमा नेकपा एमालेकी माया सिलवालले ४७२२ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका प्रताप गुरुङले ४४५१ मत ल्याएका छन्। इच्छाकामना गाउँपालिकामा २०७४ को स्थानीय तह निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष दुवै नेपाली कांग्रेसले जितेको थियो। कांग्रेसले प्रमुख र उपप्रमुख नै जितेको एउटैमात्रै स्थानीय तहमा यसपटक भने कांग्रेस शून्य बन्ने पक्का भएको छ। हालसम्मको नतिजा हेर्दा नेपाली कांग्रेसले वडा नम्बर ३ मा जम्मा एक जना वडा सदस्य जितेको छ।
नेकपा माओवादी केन्द्रसमेत याे गाउँपालिकामा निकै कमजोर सावित भएको छ। वडा नम्बर ७ को अन्तिम मत परिणाम आउनुपूर्वको अवस्थालाई हेर्ने हो भने माओवादीले वडा नम्बर १ को अध्यक्ष र वडा नम्बर ३ मा दुई जना सदस्यबाहेक अरु सबै गुमाएको छ। बाँकी सबै नेकपा एमालेले आफ्नो पक्षमा राख्न सफल भएको देखिन्छ। यसपटकको प्रतिष्पर्धी दानबहादुर गुरुङ र गीताकुमारी गुरुङ दुवै शिक्षण पेशा छाडेर राजनीतिमा आएका व्यक्ति हुन्।



























