चितवन । स्थानीय तह निर्वाचन-२०७४ मा करिबकरिब ‘क्लिन स्वीप’ भएको राप्रपाले २०७९ को निर्वाचनसम्म आइपुग्दा आफ्नो गुमेको शाख केही हदसम्म फर्काउन सफल भएको छ। २०७४ मा जिल्लाभरीमा माडी नगरपालिकाको वडा नम्बर १ मा एक जना वडा सदस्यमै चित्त बुझाएको थियो। तर यसपालि भने राप्रपाले अहिलेसम्ममा दुई वडा अध्यक्षसहित सात जना सदस्य पाएको छ।
माडी नगरपालिकाको वडा नम्बर १ मा अध्यक्ष र तीन सदस्य, वडा नम्बर ८ मा अध्यक्ष र एक सदस्य राप्रपाले पाएको छ। यस्तै भरतपुर महानगरपालिकाको वडा नम्बर ५ मा पनि एक जना सदस्य पाएको छ। जिल्लाका माडीबाहेक बाँकी सबै पालिकामा मतगणना चलिरहेको छ।
कुनै समय राप्रपाको आधार क्षेत्र मानिएको माडी क्षेत्रबाट मात्रै ६ जना जनप्रतिनिधि पाउनुले पार्टीभित्र पुनः आशाको किरण छरेको छ। यसले प्रदेश र संघीय निर्वाचनमा समेत टेवा पुग्ने विश्वास राप्रपाले लिएको छ। त्यतिमात्र नभई राप्रपाले केन्द्रीय नेतृत्वप्रतिको विश्वास बढेको पनि बताउँदै आएको छ।


























