चितवन २७ चैत । बौद्धिक अपाङगता अभिभावक संघ चितवनले २ लाख बराबरका सामग्री सहयोग गरेको छ। बौद्धिक अपाङगता भएका व्यक्तिको डेयर चलाउँदै आएका विद्यालय तथा समूहलाई सामग्री सहयोग गरेको हो। भरतपुर महानगरका उपमेयर पार्वती शाह ठकुरीले सहयोग सामग्री हस्तान्तरण गरेकी हुन्। नारायणी नमुना माविको बौद्धिक अपाङगता इकाइलाई फिजियोथेरापी मेसिन, भरतपुर–२२ धनौजीको आधारभूत बौद्धिक विद्यालयलाई स्टील दराज, किताब राख्ने र्याक सहयोग गरिएको छ।
यस्तै भरतपुर–१ को बालकुमारी सुस्तमनस्थिति विद्यालयलाई प्ले मेटल, भरतपुर–२६ को मष्तिष्क पक्षघातका लागि अभिभावक स्वावलम्बन समूहलाई वाटर फिल्टर, भरतपुर–१५ को श्रीपुरको सुस्तमनस्थिति कल्याण विद्यालयलाई म्याट्रेस, डेप्ची, प्रेसर कुकरलगायतका सामग्री सहयोग गरिएको छ।
महानगरकी उपमेयर ठकुरीले बौद्धिक अपाङ्गता भएकाहरुलाई पुनर्स्थापना केन्द्र निर्माण गर्न लागिपर्ने बताइन्। महानगरले सहयोग गर्दै आए पनि जग्गा खोजीकार्य नटुंगिएकाले यही वर्ष पुनर्स्थापना केन्द्र बन्न नसकेको उनले बताइन्। पुनर्स्थापना केन्द्रका लागि महानगर सधै सकारात्मक रहेको उनको भनाइ छ।
संघका अध्यक्ष निर्मलकुमार श्रष्ठले बौद्धिक अपाङ्गता भएकाहरुलाई हेरचाह गर्न कठिन हुने गरेकाले राज्यले नै पुनर्स्थापना केन्द्र बनाए सहज हुने बताए। संघका निवर्तमान अध्यक्ष टेकबहादुर थापाले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुलाई उचित स्याहार सुसारका लागि तालिमको खाँचो रहेको बताए। नारायणी नमुना माविमा ३३ जना, धनौजीमा १२ जना, बालकुमारीमा २७ जना, स्वावलम्वन समूहमा १० जना, श्रीपुरमा ३६ जना डेकेयरमा बस्दै आएका छन्।


























