चितवन २७ चैत । नेपाली कांग्रेसले भरतपुर महानगरपालिकाको मेयर र उपमेयर पदको लागि खुला गरेको मनोनयनमा आइतबार मात्रै दुवै पदमा १३/१३ जनाले नाम दर्ता गराएका छन्। पार्टीले आइतबार र सोमबार गरी दुई दिन समय दिएकोमा पहिलो दिन नै दर्जन बढीले आकांक्षा देखाएका हुन्।
मेयर पदका लागि भरत अधिकारी, शंकर कँडेल, तारानाथ पौडेल, उत्तम जोशी, चित्रसेन अधिकारी, जगन्नाथ पौडेल, रामप्रसाद अधिकारी, विजय शर्मा भुसाल, दिनेश कोइराला, पार्वती शाह ठकुरी, दिर्घमान श्रेष्ठ, निलकनठ शर्मा रिजाल र गौरीकुमारी श्रेष्ठले नाम दर्ता गराएका छन्।
उपमेयर पदमा पनि १३ जनाले नाम दर्ता गराउँदा तारा गुरुङ, बुद्धिकान्त न्यौपाने, लक्ष्मी लामिछाने, नीरु कार्की, कल्पना पौडेल, देवेन्द्र गुरुङ, टंकनाथ पौडेल, पूर्णबहादुर गुरुङ, राजीव न्यौपाने, वीरेन्द्र केसी, भुपतिदास सापकोटा, केदारनाथ बराल र रविभद्र शर्मा खनालको नाम दर्ता भइसकेका महानगर कांग्रेसले जनाएको छ।
आइतबार बिहान ११ बजेदेखि मनोनयन दर्ता सुरू भएसँगै मेयर र उपमेयरका लागि आकांक्षीहरु बढ्दै गएको महानगर प्रवक्ता ईश्वर प्रभाकर श्रेष्ठले जानकारी दिए। कांग्रेसको केन्द्रीय निर्देशन र चितवन जिल्लाको परिपत्रअनुसार आज आइतबारबाट भरतपुर महानगरपालिकाको महानगर प्रमुख र उपप्रमुख पदको लागि मनोनयन दर्ता शुरु गरिएको हो।


























