फागुन २९ । आईसीसी महिला क्रिकेट विश्वकप अन्तर्गत अष्ट्रेलियाले लगातार तेस्रो जित दर्ता गरेको छ।
वेलिङटनमा आइतबार भएको खेलमा आयोजक न्यूजिल्यान्डलाई १ सय ४१ रनले पराजित गर्दै अष्ट्रेलियाले तेस्रो जित हात पारेको हो।
जितका लागि २ सय ७० रनको लक्ष्य पछ्याएको न्यूजिल्यान्ड ३० दशमलब २ ओभरमा १ सय २८ रनमै सिमित भयो। न्यूजिल्यान्डका लागि एमी सेटर्थवेटले सर्वाधिक ४४ रन जोडिन्। अष्ट्रेलियाका लागि डार्सिया ब्राउनले सर्वाधिक तीन विकेट हात पारिन्।
अमान्डा जाडे वेलिङटन र अस्लेघ गार्डनरले समान दुई–दुई विकेट लिए। एलिसी पेरी, टाहलिया माईकग्राथ र मेघन स्चुटले एक–एक विकेट लिए।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६९ रन जोडेको थियो। अष्ट्रेलियाका लागि एलिसी पेरीले सर्वाधिक ६८ रनको योगदान गरिन्। टाहलिया माईकग्राथले ५७ तथा असलेघ गार्डनरले अविजित ४८ रन जोडिन्।
न्यूजिल्यान्डका लागि ली टाहुहुले सर्वाधिक ३ विकेट हात पारिन्। अमेलिया केर, हेयली जेनसन, फ्रान्सेस माक्या र हनाह रोवीले एक–एक विकेट लिए।
तीन खेल जितेको अष्ट्रेलिया ९ अंक सहित तालिकाको शीर्ष स्थानमा रहेको छ। यता न्यूजिल्यान्डले चारमध्ये दुई खेलमा जित तथा दुई खेलमा पराजय भोग्दै ४ अंक जोडेको छ।


























