दिपा धमला । कोरोना भाइरस सन् २०२० मा चीनको वुहान सहरमा देखा परेको थियो। यो विश्वमा महामारीको रूपमा तीव्र गतिमा फैलिँदै हालसम्म पनि फैलिने क्रम जारी राखेको छ। एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्ने भाइरसको संक्रमणबाट अहिले नेपाल पनि अछुत रहन सकेन। यसै संक्रमणको कारण विश्वभरका कयौं मानिसहरूले अकालमै ज्यान गुमाए भने अझै पनि विश्वको हरेक क्षेत्र तहसनहस छ।
यस भाइरसको रोकथामको लागि विश्वका अधिकांश मुलुकले निषेधाज्ञा नै जारी ग¥यो। आवतजावत, उद्योग तथा कलकारखाना, विद्यालयलगायत सम्पूर्ण क्षेत्र ठप्प भए। यसले नेपालमा पनि सामाजिक, आर्थिक, सांस्कृतिक र विशेष गरी शैक्षिक क्षेत्रमा ठूलो प्रभाव पा¥यो।
महामारी सुरू भएलगत्तै नेपालमा सबै खालका शैक्षिक क्षेत्र ठप्प भए। सञ्चालनको क्रममा रहेका परीक्षा पनि रद्ध भए। माध्यमिक शिक्षा सुरू हुनुअघि नै रद्ध गरियो भने विद्यालयतर्फका परीक्षाहरू पनि चैत्र ६ भन्दा अघि नै हतारहतार सकाइयो। त्यस्तै विश्वविद्यालयस्तरका चालू अवस्थाका र चल्ने क्रममा रहेका सबै परिक्षा रद्ध गरियो। यसको प्रभावले गर्दा २०७७ बाट सुरू हुनुपर्ने नयाँ शैक्षिक क्षेत्र पनि प्रभावित भयो।
विद्यार्थी, शिक्षक, अभिभावक तथा सरोकारवालाहरूमा कोरोना भाइरसको मनोवैज्ञानिक सन्त्रास व्याप्त रह्यो। बन्दाबन्दी सुरू भएको ३ महिनासम्म पनि सरकारले वैकल्पिक कक्षा सञ्चालनको कुनै योजना तथा खाका ल्याउन सकेन। एसइइ दिन नपाएका विद्यार्थीहरूलाई आन्तरिक मूल्यांकनको आधारमा कक्षा चढाइयो, जसले गर्दा विद्यार्थीको उचित मूल्यांकन हुन सकेन। २०७७ जेठको अन्त्यतिर वैकल्पिक विधिबाट पढाउने गरी सिकाइ सहजीकरण निर्देशिका जारी गरेर वैकल्पिक पठनपाठनलाई निरन्तरता दिन सरकारले निर्देशन दियो। तर यस क्रियाकलापले सबै विद्यार्थीलाई समेट्न भने सकेन।
कोरोना कहरको महामारीका कारण सामुदायिक तथा संस्थागत विद्यालयको शैक्षिक गतिविधिमा समेत हुँदा खाने र हुने खाने वर्गले प्राप्त गर्दै आएको शिक्षामा समेत ठूलो दरार आएको देखिन्छ। दिनभर कमाएर छाक टार्ने, कमजोर आर्थिक अवस्था भएका सबै विद्यार्थी अनलाइन कक्षाबाट पनि बन्चित भए।
विशेष गरी हेर्ने हो भने विश्वविद्यालयस्तरको शिक्षामा ठूलो मात्रामा प्रभाव पारेको देखिन्छ। विश्वविद्यालयहरूले समयमै परीक्षा लिन सकेनन्। भौतिक उपस्थितिमै परीक्षा गराउने अठोटले गर्दा कुनै पनि परीक्षा समयमै हुन सकेनन्। ४ वर्षे स्नातक तहको कार्यक्रम लम्बिएर अहिले ६ वर्षे हुन लागिसक्यो। तर पनि विश्व विद्यालयले यो समस्यालाई अझै समाधान गर्न सकिरहेको छैन।
छन त यसले पारेका केही सकारात्मक पक्षहरू पनि छन्। जस्तै कि सबै विद्यार्थी प्रविधिसँग नजिक हुने अवसर पाए। वाह्य वातावरणमा आएको परिर्वतनलाई समाधान गर्न सोहीअनुरूप आफूलाई परिर्वतन गर्नुपर्ने रहेछ भन्ने कुराको ज्ञान भयो। ठूलाभन्दा पनि साना बालबालिकाको अनलाइन कक्षाकै कारण मोवाइल र पछिल्लो प्रविधिसँग खासै नभिजेका अभिभावक पनि नयाँ प्रविधिसँग नजिक भए, जसले गर्दा भौतिकरूपमा भन्दा पनि प्रविधिमार्फत आफन्त भेटघाटलगायतका काममा सक्रिय भए।
यसले समयअनुसारको प्रविधिको प्रयोग पनि अपरिहार्य छ भन्ने कुरा बुझायो। कोरोना भाइरस जोखिमकै कारण घरबाहिर निस्कन नपाई घरभित्रैबाट प्रविधिमार्फत आफन्त भेटघाट गर्नेहरूले अहिले वातावरण केही सहज भए पनि प्रविधिकै माध्यमबाट आफ्नो भेटघाटलाई थप मजबुत बनाइरहेका छन्।

























