सार्वजनिक काम (पानी मुहान र जग्गा संरक्षण) सम्पन्न भएको रकम भुक्तानीको एउटा फाइल वार्डमा ७ दिन बस्यो। कामको चाप होला बस्यो, ठिक छ मेरो समय चाहिँ बर्बाद भएन भनेर चित्त बुझाइयो।
७ दिनपछि माघ २ गते वार्डको सिफारिस लिएर फाइल महानगर पुर्याइए।
माघ २ गते आइतबार
वार्डबाट फाइल फलानो वरिष्ठ इन्जिनियर भएको ठाउँमा पुर्याउनु भनेकाले महानगर पुगेर उहाँसामु नै फाइल पेस गरें। वरिष्ठ इन्जिनियर साबले फाइल हेर्नुभो। ल यो एकपटक तल योजना शाखा फलानो इन्जिनियर साबलाई देखाउनु अनि यहीँ लिएर आउनु भनेर भनेपछि सम्बन्धित कार्यकक्षमा आएँ।
कुर्सी खाली थियो। एक घण्टा कुरें। सोही शाखाकी एक कर्मचारीसँग मोबाइल नम्बर मागेँ। फोन गरेपछि इन्जिनियर साब बिदामा रैछ्न् भन्ने थाहा लाग्यो। म काठमाडौंबाट फर्किँदैछु, बाटोमै छु, भोलि आउँछु अफिस भनेर जानकारी पाएँ।
बिदा लिनु अस्वभाविक होइन, तर विकल्प? कुर्ने कुरा भएन अनि घर फर्किएँ।
माघ ३ गते सोमबार
११ बजे त्यही फाइल बोकेर महानगर पुगें। त्यो कुर्सी खाली नै थियो। अब त फोन नम्बर छ नि मसँग। (फोन न नहुने सेवाग्राहीलाई कुर्नुको विकल्प छैन। मभन्दा नि घाँसी सेवाग्राही प्रसस्तै हुन्छ्न्।) फोन गरें – खाना खान आएको छु ११:३० तिर आइपुग्छु भन्ने जवाफ पाएर हस् भन्दै फोन राखेँ।
११:४४ मा उहाँ आइपुग्नु भो। खुशी लाग्यो। फाइल दिएँ। हेर्नुभो अर्को इन्जिनियर साबलाई देखाउँछु भनेर अर्को कोठा छिर्नुभो फाइल उतै छोडेर फर्किनुभो। अनि भन्नुभो, ‘एकछिन है?’
१५ मिनेटपछि फेरि सोधेँ – सर भयो?
फलानो सर रामनगर साइड गएर आएपछि हेर्छु भन्नु भा’छ।
ढिला होला जस्तो छ, उसो भए म भोलि आउँछु सर।
होइन, होइन। बस्नु कतिबेर लाग्छ र यसो हेरेर फर्किने त हो! यस्तायस्ती काम सकिहाल्न पर्छ।
ल त भनेर कुरें। कमजोर नै भए पनि फ्री वाइफाइको सुविधा चाहिँ रै’छ थोरै सहज भयो।
कोही साइड हेर्न जानुभो, उहाँ चाहिँ गाडी चढेर खोप लगाउन जानुभो।
दुई घण्टादेखि म यहीँ महानगर कुरेर बसिरा’छु। काम त कर्मचारीको मात्र हुन्छ, सेवाग्राहीको अरु केही काम हुँदैन। उनीहरुको नजरमा सेवाग्राही सब घाँसी हुन्। तर पनि रिस उठेको छैन बुद्ध ज्ञान छ।
अहँ फिटिक्कै रिसराग केही छैन।
सेवाग्राहीको दुःख, सास्ती एकातिर। अर्कोतिर काम गर्ने ज्यालादारी श्रमिकको ज्याला रोकिएको छ। सबैभन्दा पीडा त्यो छ। कसले बुझ्ने त्यो पीडा? कर्मचारीलाई यसैगरी एकपटक सेवाग्राही बनाएर खटाउन पाए कसो गर्दा हुन् भनेर सोच्न थालेँ।
३:३० बजे साइड गएको पनि आउनुभो खोप लगाउन जानुभएको पनि आइपुग्नु भो। फाइल मिसप्लेस भएछ, एकछिन फाइल खोज्न थालियो।
भेटियो। दुवै इन्जिनियर साबलाई लिएर उहाँकै साधनमा कामको अनुगमन निरीक्षण गर्न आयौं। नाप जाँच भयो। दिउँसो ४ बजिसकेको थियो। उहाँ अर्को साइड नि हेर्नु छ भन्दै जानुभो। म एकजना भाइसँग आफ्नो साधान लिन महानगर गएँ।
माघ ४ गते मंगलबार
पौने ११ बजे कार्यालय पुग्दा सम्बन्धित इन्जिनियरको कुर्सी खाली थियो। सोही कक्षको अर्को कुर्सीमा बसिरहेको इन्जिनियरलाई सोधेँ, ‘क्यान्टिन खाना खान जानुभएको छ, आउनुहुन्छ, एकछिन बस्नुस्,’ उत्तर आयो। सवा ११ बजेसम्म आउनु भएन। आधा घण्टा त खान पक्कै लाग्दैन।
अनि फोन गरेँ – सर नमस्कार, कता हुनुहुन्छ?
नमस्कार, म त फिल्डमा छु नि, वार्ड नम्बर १६ मा।
म अफिस आएको थिएँ, कति बजे आइपुग्नु हुन्छ त अफिस?
एक बज्छ होला।
ल सर म एक बजे आउँछु।
हस् म एक बजे आउँछु, अनि काम अघि बढाउँला।
म फर्किएँ। पुनः एक बजे कार्यालय पुगें। १:०७ मा आइपुग्नु भो, खुसी लाग्यो।
फाइल हेर्नुभयो। उहाँले आफ्नो काम गर्दिनुभयो।
धन्यवाद भन्दै चारतला माथि अर्को वरिष्ठ इन्जिनियरलाई भेट्न पुगेँ। कुर्सी खाली छ।
कसैसँग फोन गरेर फोन नम्बर मागेर फोन गरें, ‘तल छु तल आउनुस्, भन्नुभो तल आएँ। उहाँले फाइल हेरेर आफ्नो काम गर्दिनुभो हाकिम समक्ष लैजानुस् भन्नुभो।
धन्यवाद भन्दै हाकिम कक्ष अगाडि पुगें। कक्ष अगाडि पहिल्यै हाकिम भेट्न खोज्नेको भीड थियो। सोधें, हाकिम साब मिटिङ्गमा। १:३० भएको थियो। मिटिङ्गको समयावधि थाहा छैन। २ बजेसम्म कुरेँ। केही सेवाग्राही आक्रोसित थिए, कोही बिहानदेखि कुरेको खै के हो के हो भन्दै निरास थिए।
म चाहिँ अब कुर्न सक्दिनँ भनेर फर्किएँ।
माघ ५ गते बुधबार
११:४५ मा महानगर पुगेँ। हाकिम साबको कक्षमा फाइल बुझाएँ। १२ बजे फाइल आर्थिक प्रशसन शाखाको लागि भनेर हाकिम साबको सिफारिस लिएर निस्कियो।
छेउमै रहेको आर्थिक प्रशासन शाखाको कुर्सी खाली छ।
उहाँ १ बजे आउने कुरा थाहा पाएर निस्किएँ।
१:३० बजे पुनः कार्यालय पुगेँ, कुर्सी खाली नै छ। उहाँ नगर प्रमुखसँग मिटिङ्गमा हुनुहुन्थ्यो। सँगै धुर्मुस पनि उहीँ रहेछ्न्। उनलाई नि कति तनाब छ बरा अहिले। कुर्नै पर्यो, २ बजे निस्किनु भयो। फाइल लिएर कार्यकक्ष पुगें। फाइलको पहिलो टिप्पणी आदेश हेरेर ठाडो जवाफ आयो, ‘यो खै बजेट छैन, यस्तो फाइल लिएर नआउनू।’ कर्मचारीको शैली चित्त बुझेन।
म एकछिन बसिरहेँ। उहाँ अरु फाइल हेर्दै हुनुहुन्थ्यो। अरु फाइल हेरेर सकेपछि पुनः सोधेँ मैले कुरा बुझिनँ सर बुझाइदिनु त।
सम्झौता बमोजिम काम भैसकेको छ, अघिल्लो वर्षको कार्ययोजना हो, कोभिडले काम ढिला हुन पुग्यो। भुक्तानी बाँकी छ। त्यसपछि उहाँले पुनः फाइल पल्टाएर भन्नुभो, ‘योजनामा गएर भुक्तानी बाँकी छ/छैन देखाएर ल्याउनुस्।’
योजनामा आएँ। कुर्सी खाली छ। एकजना सहयोगी भाइ भेटिए। भाइले सम्बन्धित कर्मचारीलाई फोन गर्नुभो, उहाँ बैंक जानु भएको रैछ।
फाइल मेरो टेबलमा राखिदिनु, म आएर हेर्छु नि भन्ने जवाफ पाएपछि फाइल टेबलमा राखेर उहाँको आगमनको प्रतीक्षामा बसें।
३:३० मा उहाँ आइपुग्नु भयो। सोधेँ, आज अब भ्याइँदैन। फलानो सर पनि हुनुहुन्न, उहाँ नभै हुँदैन। म बनाएर भरेर राख्दिन्छु, भोलि आउनु है त।
मान्नै पर्यो। हस् म भोलि आउँछु भन्दै निस्किएँ।
माघ ६ गते बिहीबार
११:२५ मा कार्यालय पुगें।
हिजो बनाएर राखिदिन्छु भनेको अनुगमन तथा मूल्यांकन प्रतिवेदन रहेछ। प्रतिवेदन भरिवरी तयार रहेछ। तर सम्बन्धित ३ जना इन्जिनियरको हस्ताक्षर गर्न बाँकी। एकजना वरिष्ठ इन्जिनियर बाहिर निस्किन लाग्नुभएको रहेछ, बाटोमै रोकेर हस्ताक्षर गराएँ, अर्को एकजनालाई कार्यकक्षमा। अर्को एकजना कार्यकक्षमा देखिनँ। फोन गरे व्यस्त छ। सँगैको कुर्सीको इन्जिनियरलाई सोधेँ, फलानो सर आउनुभएको छैन र?
उहाँ आज बिदामा।
फेरि सोधेँ, उहाँको हस्ताक्षर नभए नि हुन्छ कि?
हुनसक्छ, जानु न एकपटक आर्थिक प्रशासनमा देखाउनू। आर्थिक प्रशासन शाखाको ढोकामा चाबी लगाएको छ। माघ ११ गते उहाँको परीक्षा छ रे, आउने/नआउने भर भएन। एकपटक लेखाको फलानो सरलाई देखाउनू न हुन्छ कि?
लेखाको फलानो सरको कुर्सी पनि खाली छ।
फलानो सरको कुर्सी कतिबेला भरिएला भनेर कुरेर बसेँ। छुटेको इन्जिनियरको हस्ताक्षर गराउन पुनः फोन गरें, ‘म बिदामा हो, त्यही नि दुई बजेतिर म आइपुग्छु अनि गरिदिउँला।’
एक जना भाइको सहयोग लिएर लेखा शाखाको कर्मचारीलाई फाइल देखाएँ। ल ठिक छ, मैले लेखिदिए पनि हुन्छ भनेर लेखिदिनु भयो। ल हाकिमकोमा पुर्याएर फेरि यहीँ लिएर आउनू।
फाइल पुनः हाकिमसमक्ष पेस गर्नुपर्ने रहेछ, पेस गरेँ। १५ मिनेटमा फाइल सदर भएर निस्कियो।
२ बज्यो, छुटेको निन्जिनियरको पनि उपस्थित भयो। उहाँको पनि हस्ताक्षर गराएँ र फाइल पुनः लेखा शाखामा पुर्याएँ।
फाइल धेरै छ्न् आज त बन्दैन। नाम, फोन नम्बर लेखेर छोडेर जानू। २/४ दिन लाग्छ म चेक बनाएर फोन गर्छु।
हस् भन्दै फाइल छोडेर फर्किएँ।
माघ ११ गते मंगलबार
फोन आएन। कार्यालय पुगें। चेक तयार रहेछ। चेकको अर्धकट्टीलगाएत आवश्यक ठाउँमा उपभोक्ता समितिको छाप लगाएर धन्यवाद सर भन्दै खुसी भएर चेक लिएर महानगरबाट बाहिरिएँ।
चेक डिपोजिटको लागि राष्ट्रिय बाणिज्य बैंक चौबीसकोठी पुगेँ। कर्मचारी अमिक्रोनबाट संक्रमित भएर सेवा बन्द रहेछ। नारायणगढ शाखा जानुस्…….
सुझाव :
१. प्रक्रिया लामो भयो यस्तो झन्झट हटाउनुस्।
२. फाइल एक ठाउँ बुझाएपछि सबै आवश्यक चेक जाँच गरी चेक तयार होस्, सेवाग्राहीले फाइल बोकेर कोठाकोठा चाहार्न नपरोस्। आवस्यक कर्मचारी थपियोस्।
३. कर्मचारी सेवाग्राहीमैत्री बन्नुपर्छ।
४. कर्मचारी बिदामा बस्दा वा फिल्ड भिजिट हुँदा सम्बन्धित कर्मचारीको विकल्प होस्।
युद्धमा सहयोग गर्ने भाइ साकार लामालाई विशेष धन्यवाद!
सम्पूर्ण कर्मचारीप्रति पनि आभारी छु नै। दोष व्यक्तिको होइन संयन्त्रको हो, प्रणालीको हो, सिकाइको हो, बुझाइको हो र संस्कारको हो।
सबैको जय होस!


























