फागुन २१ । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को लागि खेलाडीको अक्सन शुक्रबार सम्पन्न भएको छ।
आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको अक्सनमा २ सय ४१ खेलाडी सहभागी भएका थिए। जसबाट १० टोलीले १५/१५ जना खेलाडी अनुबन्ध गरेका छन्। यस पटकको अक्सनमा २१ खेलाडी सर्वाधिक ३ लाख ५० हजार मूल्यमा बिक्री भएका छन्।
जसमा दीप कार्की विराटनगरमा, मान बहादुर तामाङ र सुदिप गुरुङ विरगंजमा, सुमन अर्याल,रबि पासवान र दर्शन गुरुङ बुटवल लुम्बिनी, सिमान्त थापा, पुजन उपरकोटी र आकाश बुढा मगर धनगढीमा रहेका छन्।
यस्तै सेसेहाङ आङ्देम्बे, निशान खड्का र सन्तोष तामाङ झापा एफसीमा, आशिष गुरुङ र सुनिल बल काठमाडौं रेजर्स, विशाल सुनार, सनिश श्रेष्ठ ललितपुर एफसी, दिनेश राजवंशी, छिरिङ गुरुङ र एरिक विष्ट पोखरामा, गौतम श्रेष्ठ स्पोर्टिङ इलाम तथा त्रिदेब गुरुङ एफसी चितवनमा सर्वाधिक मुल्यमा अनुबन्धित भएका छन्।
यस पटकको अक्सनमा धनगढी एफसीले सर्वाधिक धेरै खर्च गरेको छ। धनगढीले २४ लाख खर्चियो। स्पोर्टिङ इलामले सबैभन्दा कम खर्च गर्यो। इलामले १८ लाख ५० हजार खर्चिएको छ।
एनएसएलको दोस्रो संस्करण चैत २६ देखि जेठ ७ गतेसम्म आयोजना हुनेछ। १० टोलीको सहभागिता रहने दोस्रो संस्करणको प्रतियोगिता दुई शहरमा आयोजना हुनेछ। प्रतियोगिताका खेलहरु पोखरा र काठमाडौंमा हुनेछ।
पहिलो संस्करण दशरथ रंगशालामा आयोजना भएको थियो। पहिलो संस्करणमा ७ टोलीले प्रतिस्पर्धा गरेका थिए।


























