पोखरा, फागुन १३ । जनता समाजवादी पार्टीका ४ जना केन्द्रीय सदस्य एवं गण्डकीका प्रभावशाली नेताहरुलाई आफ्ना पार्टीमा प्रवेश गराउन एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रबार पोखरा आइपुगेका छन्। उनी शुक्रबार बिहान ११ बजे पोखरा आइपुगेका हुन्।
गण्डकी प्रवेश कमिटीले पोखरा सभागृहमा आयोजना गरेको कार्यक्रममा जनता समाजवादी पार्टीका ४ जना केन्द्रीय सदस्य र प्रभावशाली नेता कार्यकर्ता एमाले प्रवेश गर्ने र पार्टी अध्यक्ष ओलीले सदस्यता प्रदान गर्दै स्वागत गर्ने कार्यक्रमा रहेको एमाले गण्डकीका सचिव धनञ्जय दवाडीले जानकारी दिए।
जसपाका केन्द्रीय सदस्य एवं गण्डकी इन्चार्ज गणेशमान गुरुङ, केन्द्रीय सदस्य एवं तमुवान राज्य समिति इन्चार्ज देवीराज गुरुङ, केन्द्रीय सदस्य तथा तमुवान राज्य समिति अध्यक्ष हुमबहादुर गुरुङ र केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश समितिका उपाध्यक्ष दीपक तामाङ लगायत एमाले प्रवेशको कार्यक्रम छ।


























