चितवन । तमू (गुरुङ) सञ्चारकर्मी संघ चितवनको अध्यक्षमा तुलमान गुरुङ चयन भएका छन्। सोमबार भरतपुरको डल्फिन फनपार्कमा सम्पन्न पहिलो अधिवेशनले गुरुङको नेतृत्वमा जिल्ला कार्यसमिति गठन गरेको हो। ९ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा हीरालाल गुरुङ, सचिवमा राजनदिल गुरुङ, सहसचिवमा गीता गुरुङ र कोषाध्यक्षमा बलबहादुर गुरुङ (नेत्र)लाई चयन गरिएको हो।
यस्तै कार्यसमिति सदस्यहरुमा धनबहादुर गुरुङ (घना), ममता गुरुङ, कमला गुरुङ र करिष्मा गुरुङ चयन भएका छन्। तीन वर्षे कार्यकालको लागि चितवनमा पहिलो पटक जिल्ला कार्यसमिति गठन भएको हो। २०७१ सालमा चित्रबहादुर गुरुङको नेतृत्वमा तदर्थ समिति गठन भए पनि समिति सक्रिय हुन नसकेपछि हालसम्म अधिवेशन हुन सकेको थिएन।

सामाजिक सञ्जालले मूलधारको मिडियालाई चुनौति : रीना गुरुङ
अधिवेशनको उद्घाटन गर्दै बागमती प्रदेश सदस्य रीना गुरुङले पछिल्लो समय सामाजिक सञ्जालका कारण मूलधारका सञ्चारमाध्यमलाई चुनौति थपिएको बताइन्। त्यसका लागि अबको पत्रकार तथा सञ्चारकर्मी बढी चनाखो हुनुपर्ने उनले बताइन्। आफैँ पनि लामो समय सञ्चारमाध्यममा काम गरेको अनुभव सुनाउँदै उनले भनिन्, ‘पत्रकार भनेका समाजको बौद्धिक वर्ग हुन्। त्यसैले बौद्धिक वर्गले संगठित भएर काम गर्दा झनै संगठन मजबुद हुन सक्छ।’
तमू (गुरुङ) सञ्चारकर्मी संघका केन्द्रीय अध्यक्ष रविन गुरुङले चितवनमा तमू सञ्चारकर्मीको संगठन बिस्तार गरेर केन्द्रीय समितिको गुरुयोजना केही हदसम्म पूरा भएको बताए। संस्था स्थापनाको लक्ष्यअनुसार हरेक जिल्लामा शाखा गठन गर्ने योजना रहे पनि सबै जिल्लामा सम्भव नहुने हुँदा सम्भव भएका जिल्लाहरुमा शाखा बिस्तार गर्दै जाने उनले बताए।

संगठन बिस्तार गरिसकेपछि संस्था चलाउन र बलियो बनाउन आर्थिक पाटोमा विशेष ध्यान दिन उनले आग्रह गरे। केन्द्रीय समिति गठन गर्ने बेलामा कार्यसमिति पूरा गर्न पनि धौ-धौ भएको स्मरण गर्दै उनले भने, ‘अब त हामी केही हदसम्म संख्यात्मकरुपमा पनि विकास भइसकेका छौं।’ उनका अनुसार चितवनमा गठन भएको जिल्ला शाखा दोस्रो शाखा हो। यसअघि कास्कीमा जिल्ला शाखा गठन भएको थियो।
कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रीय सदस्य राजु चौधरी, सुनसरीका अध्यक्ष नविन गुरुङ, चितवनका अध्यक्ष रमेश रानामगर, तामाङ पत्रकार संघ चितवनका अध्यक्ष बबिलाल तामाङ, नेवा पत्रकार राष्ट्रिय दबूः चितवनका अध्यक्ष कमलमान श्रेष्ठ, तमू ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद बागमती प्रदेश समितिका सदस्य कृष्णबहादुर गुरुङ, तमू प्ये ल्हू संघ चितवनका अध्यक्ष लालप्रसाद गुरुङ र सल्लाहकार भीमबहादुर गुरुङ, तमूस्यो ह्युल छोँज धीँ चितवनकी अध्यक्ष शकुन्तला गुरुङ, तमू प्ये ल्हू संघ चितवन महिला समितिकी अध्यक्ष इन्द्रमाया गुरुङलगायतको पनि उपस्थिति थियो।


























