फागुन ७ । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले फिलिपिन्सलाई २ सय १९ रनको लक्ष्य दिएको छ।
ओमानको अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय १८ रन जोड्यो। नेपालका लागि कुशल भुर्तेलले १ सय ४ रनमा अविजित रहे।
कुशलले ६१ बल खेल्दा १३ चौका र १ छक्का हिर्काए। कुशलको टी–ट्वान्टी अन्तर्राष्ट्रियमा यो सर्वाधिक रन हो। यस अघि उनले ७७ रन बनाएका थिए। कुशल नेपालबाट शतक बनाउने तेस्रो खेलाडी हुन्।
यसअघि नेपालबाट ज्ञानेन्द्र मल्लले ५५ बलमा १ सय ७ रन तथा पारस खड्काले ५२ बलमा १ सय ६ रन बनाएका थिए। दिपेन्द्र सिंह ऐरीले ८३ रन जोडे । उनले ४७ बलमा ६ चौका र ४ छक्का हिर्काए।
कुशल र दिपेन्द्रले नेपालका लागि टी–ट्वान्टीको सर्वाधिक रनको साझेदारी गरे। कुशल र दिपेन्द्रले १ सय ७१ रनको साझेदारी गरे। यस अघि पारस खड्का र आरिफ शेखले सिंगापुरविरुद्ध १ सय ४५ रनको साझेदारी गरेका थिए। लोकेश बम ६ रनमा अविजित रहे।
कुशल मल्लले १२ रनमा आउट भए। आशिफ शेख शुन्य रनमै आउट भएका थिए। फिलिपिन्सका लागि गुर्धुपिन्दर चोहान, मिग्गी पोडोस्की र ड्यानियल स्मीथले एक–एक विकेट लिए।


























