फागुन ६ । नेपाली कांग्रेसका महामन्त्री एवं संघीय सांसद गगन थापाले सत्ता गठबन्धनका दलहरुबाट कांग्रेससँग छलछामको व्यवहार भएको भन्दै आक्रोश पोखेका छन्।
गठबन्धनका दलहरुले एमसीसी संसदमा टेबल गर्ने समय टार्दै आएको भन्दै महामन्त्री थापाले सत्ता गठबन्धनमा आवद्ध माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादीसँग आक्रोश पोखेका हुन्।
शुक्रबार संसद बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले गठबन्धनका दलहरुको व्यवहारप्रति आपत्तिसमेत जनाए।
‘गठबन्धनका दलहरुको व्यवहारप्रति हाम्रो गम्भीर आपत्ति छ। गठबन्धनका दलहरु असार आए साउन भन्नुहुन्छ, साउन आए भदौ, भदौ आए असोज भन्नुहुन्छ’, उनले भने, ‘कांग्रेससँग गरिएको यो व्यवहार छलछाम हो, सफा व्यवहार होइन। हामीसँग बन्द कोठामा एउटा भनियो। अर्को दिन अर्को भनियो। आज फेरि ८ गते भनियो। ६ गतेबाट ८ पुर्याइयो। ठीक छ ८ गते निर्णय भए। नभए आठ पछि १२ गते भन्ने अवस्था राम्रो होइन।’
उनले एमसीसी संसदमा पेस गर्नुपर्नेमा जोड दिए। संसदबाटै एमसीसी छिटोभन्दा छिटो टुंग्याउनुपर्ने उनको भनाइ थियो।
‘अब एमसीसी संसदमा पेस गरौं। जति दिन लाग्छ छलफल गरौं। दूधको दूध, पानीको पानी छुट्याऔं। देश र जनताले पनि सबै कुरा थाहा पाऊन्। जो पक्षमा जानुहुन्छ जाउँ, जो विपक्षमा जाने जाऊन्’, सांसद थापाले भने, ‘कांग्रेस एमसीसीलाई संसदबाटै टुंगाउन चाहन्छ, संसदबाटै पास भए पास र फेल भए फेल गरौं। यसलाई अब नलम्ब्याऔं। अब टुंग्याऔं, चुनावपछि नभनौं।’
उनले एमसीसी राष्ट्रघाती छ भने अहिले पनि छ र पछि पनि हुने भन्दै एससीसीलाई लिएर नेताहरुले द्वैध चरित्र देखाउन नहुने संकेत गरे।
उनले साझा सहमतिको आधारमा एउटा संकल्प प्रस्ताव लिएर एमसीसी संसदमा अघि बढाउन सकिने धारणासमेत राखे।
उनले एमसीसीका सम्बन्धमा काग्रेस सत्ता गठबन्धनबाट अघि बढ्न चाहेको बताए। ‘हामीबीचमा कुरा भएरै र कुरा मिलेरै गठबन्धन भएको हो। हामीबीच कुरा मिलेन भने गठबन्धन चल्दैन। कुरा पनि मिल्दैन र गठबन्धन पनि चलिरहने भन्ने कुरा हुँदैन’, थापाले थपे, ‘हामी फरक फरक राजनीतिक दल हौं। अहिले सिंगो देशको विश्वसनीयतामा र्हास आउन दिन हुँदैन। सँगै अघि बढ्न सक्दैनौं भने संसदमा टेबल गरौं। जो जता लाग्ने हो, मतदान गरौं।’
उनले एमसीसीकै कारण सत्ता गठबन्धन नटुट्नेसमेत औंल्याए। एउटा मात्रै विषयको लागि गठबन्धन नबनेको उनले स्पष्ट पारे। ‘सँगै हिँड्न गठबन्धन बनेको हो। एउटा विषयको लागि बनेको पनि होइन र एउटा विषयले भत्किनुपर्छ भन्ने पनि छैन’, महामन्त्री थापाले भने, ‘तर सँगै सरकारमा रहेकाले संसदमा एमसीसी टेबुल गर्न सबै सहमत हुनुपर्छ। टेबल भइसकेपछि पक्ष वा विपक्षमा मतदान गर्न सबै दल स्वतन्त्र छौं।’
उनले एमसीसी कांग्रेसको मात्रै जिम्मेवारी नभएको बताए। सबै पन्छिएर निर्वाचनको मुखमा यसको विरोध छ भनेर कांग्रेसको काँधमा भारी बोकाउन खोजिएको उनको आरोप थियो।


























