चितवन, फागुन ३ । रत्ननगरमा पत्रकारहरुको लागि दुई दिने मोवाइल पत्रकारिता तालिम सुरु भएको छ।
रत्ननगर नगरपालिकाको आयोजनामा उपमेयरसंग पत्रकार कार्यक्रम अन्तर्गत दुई दिने तालिम सुरु भएको हो। प्रविधिको उच्चतम प्रयोग गरी तत्काल नागरिकलाई सुचना प्रदान गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो। तालिमको उद्घाटन गर्दै मेयर नारायण वनले पत्रकारहरुको क्षमता बृद्धि गर्दै उनीहरुलाई थप व्यवसायिक बनाउन तालिम आयोजना गरिएको बताए।
मेयर वनले नगर विकासमा भएका राम्रा कुराहरुलाई प्राथमिकता दिन र हुन नसकेका कुराहरुलाई सचेत गराउने गरी समाचार प्रकाशित गर्नु पत्रकारको जिम्मेवारी रहेको बताए। उपमेयर विमला दुवाडीले मल्टिमिडियाको क्षेत्रमा पत्रकारहरुलाई दक्ष बनाउन तालिम आयोजना गरिएको भन्दै नागरिकलाई सुसुचित बनाउने काममा पत्रकारहरु जिम्मेवारी पूर्वक लाग्नुपर्ने बताइन।
कार्यक्रममा मोवाइलबाट अनलाइन सञ्चार माध्यममा समाचार प्रकाशित गर्ने तरिका, भिडियो सम्पादन, फोटो इडिटिङ, भाषा सम्पादन, भिडियो छायाङ्कन, अडियो मिक्सिङ कला लगायतको विषयमा प्रशिक्षण दिइएको छ। विविसी एक्सन मिडियाका पूर्व सम्पादक भूवन तिमिल्सिनाले तालिममा प्रशिक्षण दिएका हुन।
उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल, सामाजिक विकास समितिका संयोजक तथा वडाध्यक्ष केशब आचार्य, महिला विकास अधिकृत दीपा घिमिरे लगायतले मन्तव्य राखेका थिए। तालिममा पूर्वी चितवनलाई कार्यक्षेत्र बनाएर काम गर्ने २२ जना पत्रकारहरुको सहभागिता रहेको थियो।


























