मकवानपुर, माघ २२ । मकवानपुर जिल्लामा घरेलु हिंसाका घटना बढ्दै गएको पाइएको छ।
जिल्ला प्रहरी कार्यालय हेटौँडाका अनुसार चालु आर्थिक वर्षको पहिलो छ महिनामा २२२ घरेलु हिंसासम्बन्धी उजुरी परेको छ। गत आर्थिक वर्षमा घरेलु हिंसासम्बन्धी २७६ वटा उजुरी परेको थियो। चालु आर्थिक वर्षमा परेको उजुरीमध्ये सबैभन्दा बढी जबर्जस्ती करणीका २३ वटा छन्। गत जबर्जस्ती करणीका ५८ उजुरी परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा महिला सेल प्रमुख चुडाकुमारी खड्काले जानकारी दिए।
उनका अनुसार चालु आर्थिक वर्षमा मानव बेचबिखन सम्बन्धी एउटा उजुरी परेकोमा गत वर्ष एउटा पनि उजुरी परेको छैन्। त्यस्तै चालु आर्थिक वर्षको पहिलो छ महिनामा बहुविवाहसम्बन्धी चार र बाल यौनदुव्र्यहारको तीन उजुरी परेको उनले बताए। गत आवमा बोक्सीको आरोपमा एउटा उजुरी परेकोमा चालु आर्थिक वर्षको पहिलो छ महिना एउटा पनि उजुरी नपरेको प्रमुख खड्काले बताए। रासस


























